हुलाक सेवा विभागले नारदमुनि थुलुङको नाममा टिकट प्रचलनमा ल्याएको छ।
मङ्गलबार (हिजो) सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, मन्त्रालयका सचिव राधिका अर्याल र विभागका महानिर्देशक मनमाया भट्टराईले संयुक्त रूपमा टाँचा लगाएर टिकटको उद्घाटन गरेका हुन्।
थुलुङसँगै स्व. चिनियाँलाल सिंहको पनि टिकट प्रचलनमा ल्याइएको छ। रू. १० का दरले पाँच/पाँच लाख गरी जम्मा दश लाख टिकट चलनचल्तीमा ल्याइएको विभागले जनाएको छ।
उद्घाटनपछि बोल्दै मन्त्री गुरुङले नेपालको राजनीतिक तथा शैक्षिक रूपान्तरणमा थुलुङ र सिंहले महत्त्वपूर्ण योगदान गरेको बताए।
विसं १९६५ चैत्र २७ गते साबिक नौलेगाउँ छिन्नामखु भोजपुर, हाल टेम्केमैयुङ गाउँपालिका वडा नं. २ भोजपुरमा जन्मिएका थुलुङ प्रजातन्त्र सेनानीका रूपमा चिनिन्छन्।
सन् १९२५ देखि १९३० र १९३४ देखि १९४६ गरी २ पटकसम्म बेलायती भारतीय गोर्खा सैन्यमा भर्ना भई सैनिक जीवनसमेत व्यतीत गरेका थुलुङले २००७ सालमा प्रजातन्त्र स्थापना हुनुमा प्रमुख योगदान पुर्याएका थिए।
प्रकाशित: २८ फाल्गुन २०८१ २०:५४ बुधबार

