खानेपानीमन्त्री प्रदीप यादव तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबीच मंगलबार मन्त्रालयमा भेटवार्ता सहित लुम्बिनी प्रदेशमा हाल सञ्चालनमा रहेका विभिन्न खानेपानी आयोजनाका विषयमा छलफल भएको छ।
भेटवार्ता क्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सङ्घीय सरकारको बजेटबाट सञ्चालन भइरहेका कतिपय खानेपानीका आयोजनाहरूमा ८० प्रतिशत काम सम्पन्न भएका तथा १५ देखि २० प्रतिशत रकम थपेर सम्पन्न हुने अवस्थामा रहेकाले ती आयोजना सम्पन्न गराउनका लागि आवश्यक बजेट विनियोजन गर्न आग्रह गरेका थिए।
उनले भने, ‘सङ्घीय सरकारबाट लुम्बिनी प्रदेशमा खानेपानीका आयोजनामा करिब अडाई करोड भन्दा बढी रकम लगानी भइसकेको छ। थोरै रकम अभावमा केही योजना सम्पन्न गर्न बाँकी छन्। ती योजना सम्पन्न गरिदिन रकमान्तर गरेर भएपनि बजेट विनियोजन गर्न मेरो आग्रह छ।’
लुम्बिनी प्रदेशमा कम्तीमा पनि एक, डेढ अर्ब मात्रै बजेट विनियोजन भए सङ्घीय सरकारबाट सञ्चालित खानेपानीका आयोजना सबै सम्पन्न हुने मुख्यमन्त्री आचार्यले जानकारी गराए।
उनले भने, ‘संघले सुरु गरेका खानेपानीका आयोजना संघले नै सम्पन्न गर्नु पर्ने हाम्रो माग छ। या त संघले बजेट थपदिनुपर्यो, होइन भने आफै आयोजना सम्पन्न गर्नुपर्यो।’
उक्त अवसरमा मन्त्री यादवले थोरै रकमले काम सम्पन्न गर्न सकिने र नागरिकलाई शुद्ध खानेपानी वितरण गर्न सकिने खानेपानी आयोजनाका विषयमा प्रदेश सरकारले लिखित रुपमा मन्त्रालयमा जानकारी गराएको खण्डमा ती आयोजनाहरू सम्पन्न गराउनेतर्फ मन्त्रालय अघि बढ्ने बताए।
उनले भने, ‘बजेट अभाव छ। नयाँ योजना नराखौँ। ८० प्रतिशत काम सम्पन्न भएका र थोरै लगानीमा पूर्व रुपमा काम सम्पन्न हुने अवस्थामा रहेका आयोजनाहरूका विषयमा जानकारी दिनुहोला। आयोजना सम्पन्न गर्न हाम्रोबाट पूर्ण सहयोग रहने छ।’
उक्त भेटवार्ता खानेपानीमन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्य, लुम्बिनी प्रदेशका सचिव, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।
प्रकाशित: २७ फाल्गुन २०८१ १५:२४ मंगलबार





