राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पछिल्ला घटनाक्रमबारे सरकारको जबाफदेहितामा प्रश्न उठाएका छन्।
सोमबार रुपन्देही जिल्ला अदालतमा सहकारी बचत अपचलन मुद्दाको सुनुवाइका लागि पुगेका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै राजावादी प्रदर्शनमा जनसहभागिता बढ्नुमा सरकार आफैं जिम्मेवार रहेको बताए।
लामिछानेले राजावादी प्रदर्शनमा हजारौं नागरिक उत्रिनुको कारण सरकारसँग सोध्नुपर्ने बताए। उनले भने, ‘दुई तिहाइको सरकार छ। यसको जवाफ मैले भन्दा पनि सरकारले दिनुपर्छ। देशमा के भइरहेको छ भन्ने थाहा हुनुपर्ने होइन ?’
उनले रास्वपाले सरकार छाड्नु अघि अघि बढाइएका विभिन्न भ्रष्टाचार अनुसन्धानहरू रोकिएको आरोपसमेत लगाए। उनले भने, ‘हामीले भ्रष्टाचारविरुद्ध ठुलै अभियान सुरु गरेका थियौँ। सात महिनामा ती सबै बन्द भए भन्ने सुनेको छु। अहिले जे भइरहेको छ, त्यसको जिम्मेवारी दुई तिहाइको सरकारले नै लिनुपर्छ।’
उनले सत्तानिकट व्यक्तिहरूलाई कानुनी कारबाहीबाट जोगाउने र विपक्षीहरूमाथि प्रतिशोध साँध्ने काम भइरहेको आरोप लगाए।
सत्ताधारी दलहरूमाथि तीव्र आक्रोश व्यक्त गर्दै लामिछानेले आफूलाई तह लगाउन खोज्दा सरकार आफैं फसेको उल्लेख गरे। उनले भने, ‘मलाई पुर्न भनेर सरकारले जत्रो खाल्डो खन्यो, सानो खाल्डो भएको भए म मात्रै पुरिन्थेँ। तर, यति ठूलो खाल्डो खनियो कि यी सबै त्यसमा जाकिन्छन्। म भाग्ने मान्छे होइन, सामना गर्ने मान्छे हुँ।’
उनले छिट्टै विस्तृत रूपमा आफ्ना धारणा सार्वजनिक गर्ने बताए।
प्रकाशित: २६ फाल्गुन २०८१ १९:५८ सोमबार