जनता समाजवादी पार्टी (जसपा)नेपालका पूर्वसांसद प्रमोद साह नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । जनतासँग माओवाद, तराई मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभामा उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रवेश गराएका हुन् ।
साह २०७४ सालको आमनिर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०७८ देखि प्रमुख सचेतक बनेका थिए ।
पार्टी प्रवेशपछि नेता साहले २४० वर्षे एकात्मक सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने प्रमुख दल माओवादी केन्द्र भएकाले आफूले यही दल रोजेको बताए । तमाम उत्पीडित समुदायलाई मुक्ति दिने माओवादी र यसको कुशल नेतृत्व प्रचण्डले नै अब मधेस आन्दोलनका बाँकी कार्यभार पूरा गर्नसक्ने ठहर गरी आफू माओवादीको हिस्सेदार बन्न पुगेको उनले स्पष्ट गरे ।
अहिले काङ्ग्रेस र एमाले पहिचान विरोधी दलको रुपमा देखिएको तथा मधेसी दल अवसरवादमा लिप्त भएकाले अब माओवादीलाई विश्वास गरेर मात्रै मधेसी जनताको मुक्ति सम्भव हुने बताउँदै अब आफू माओवादी आन्दोलनमा रहेर पहिचान, अधिकार र सुशासनको पक्षमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
माघको तेस्रो साता सामाजिक सञ्जालमार्फत साहले जसपा नेपाल छाडेको घोषणा गरेका थिए ।
उनीसँगै ठूलो संख्यामा जसपा नेपालसहित विभिन्न दलका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
प्रकाशित: २३ फाल्गुन २०८१ १४:५६ शुक्रबार