नेकपा एमालेका महासचिव शंकर पोखरेलले जादुयी नम्बरका नाममा जनताबाट अस्वीकृत दलले शासनमा हन्डर खाएर दुई ठुला दल मिलेर सरकार बनाएको दाबी गरेका छन्। शनिवार एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।
‘कहिलेकाहीँ चल्दछ, यो सरकारको आयु कहिलेसम्म होला ? एक महिनामा एउटा एउटा हल्ला चलाउने गरिन्छ,’ महासचिव पोखरेलले भने,‘त्यो हल्ला नेपालमा अस्थिरतामा रम्न चाहनेको सपना मात्र हो । त्यसले अहिलेको सरकारलाई कुनै प्रकारको प्रभाव पार्दैन ।’
यो सरकार निश्चित उद्देश्यका लागि बनेको बताउँदै त्यसमा प्रतिबद्ध रहेको उनले बताए। उनले भने, ‘यो मिसन ०८४ सम्म दुई दलका बिचको सहकार्य निरन्तर रहन्छ।’ यसमा कुनै पनि प्रकारको संशय, अविश्वास गर्नुपर्ने परिस्थिति नरहेको पनि महासचिव पोखरेलले दाबी गरे । ‘किनकि धेरै हन्डर ठक्कर खाएर प्रमुख पार्टी सहकार्यमा आएका छन् भन्ने कुरा बुझ्नुपर्छ,’ उनले भने।
नेपालको राजनीतिमा साना दलहरूले ठुला दलमाथि शासन गरेर हैकम देखाउने राजनीतिक प्रवृत्ति देखा परेको बताउँदै उनले त्यसले लोकतन्त्र कमजोर पार्ने स्थिति देखिएको बताए।
‘जनताले पत्याएका दलले शासन गर्न नपाउने, जनताले अस्वीकार गरेका दलहरूले चाहिँ म्याजिक नम्बरका नाममा ठुला दलमाथि शासन गर्ने जुन प्रकार प्रवृत्ति नेपालको राजनीतिमा रह्यो,’ उनले भने, ‘त्यो सधैँका लागि अन्त्य गर्नुपर्दछ भनेर प्रमुख दलले सहकार्य गरेको हो।’
प्रकाशित: १७ फाल्गुन २०८१ १७:२४ शनिबार





