उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भएका कमी कमजोरी पहिचान गरी सुधार गरेर देश विकास गर्न सरकार अग्रसर रहेको दाबी गरेका छन्। शनिबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उपप्रधानमन्त्री सिंहले अहिलेको सरकार नेपाली कांग्रेस र नेकपा एमालेसहितका अन्य साना राजनीतिक दलहरू मिलेर देशमा शान्ति, सुशासन र विकास निर्माण गर्नका लागि काम गरिरहेको दाबी गरेका छन्।
देश विकाससँगै सरकारको स्थायित्वका लागि अहिलेको सरकार निर्माण भएको भन्दै उनले भने, ‘अहिलेको जुन वर्तमान सरकार काँग्रेस, एमाले लगायत अरु साना दलहरू मिलेर सरकार बनेको छ। यो सरकार किन बनेको भने जनताले के भन्न थाले भने सरकारको आयु नभएको सरकार बन्छ, फेरि केही महिनामा अर्को सरकार बन्छ भन्न थाले।’
उनले अगाडि थपे, ‘सरकारकै सुनिश्चितता छैन भने त्यो सरकारले हाम्रो के काम गर्छ? त्यसले गर्दा राजनीतिक स्थिरता, स्थायित्व र सरकार टिक्ने किसिमको आवश्यक छ भनेर यो वर्तमान सरकार बनेको हो। बोलेर मात्रै होइन, काम गर्न गाह्रो छ। भएका कमी कमजोरी पहिचान गरी सुधार गरेर अघि बढ्नेतर्फ यो सरकार गइरहेको छ।’
उपप्रधानमन्त्री सिंहले लोकतन्त्रमा सबैकुरा व्यक्त गर्ने अधिकार रहेको भएपनि अधिकारको मात्रै कुरा गर्ने तर जिम्मेवारीअनुसार काम नगर्ने कुराले समाजलाई सही ठाउँमा नपुर्याउने तर्क पनि गरेका छन्। राजनीतिक स्थायित्व भएमात्रै देशको अर्थतन्त्र सुदृढ पार्नेसहितका विकासका कामहरू अघि बढ्नुपर्नेमा उनको जोड थियो। जीवन र जीविकोपार्जन सहज हुनुपर्ने आवाज सबै नागरिकको भएकाले सोहीअनुसार सरकारले काम गरिरहेको जिकिर उनको छ।
प्रकाशित: १७ फाल्गुन २०८१ ११:५५ शनिबार





