२० चैत्र २०८१ बुधबार
image/svg+xml ५:४१ पूर्वाह्न
राजनीति

कांग्रेस बैठकमा राजनीतिक दल सम्बन्धी विधेयकमा छलफल, थप केके भयो कुराकानी ?

नेपाली कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकमा राजनीतिक दल सम्बन्धी विधेयक शीघ्र अगाडि बढाउने विषयमा छलफल भएको छ। शुक्रवार साँझ सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको बैठकमा दल सम्बन्धी विधेयकमा गहन छलफल भएको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले निर्वाचन सम्बन्धी विधेयक र राजनीतिक दलसम्बन्धी विधेयकलगायतका विषयमा गहन छलफल भएको बताए। 

‘केही नयाँ विधेयकका विषयमा जस्तो निर्वाचन सम्बन्धी विधेयकमा गृह मन्त्रालय र कानुन मन्त्रालयले काम गरिराख्या छ। त्यसमा सैद्धान्तिक छलफल भएको छ,’ प्रमुख सचेतक घिमिरेले भने, ‘यसै गरेर दल सम्बन्धी विधेयकका कतिपय दफाहरू स्थगनको अवस्थामा छन्। पहिला २०७८ मा संशोधन अध्यादेश आयो, त्यो पछि सरकारले फिर्ता लियो। त्यो चाहिँ शून्यताको अवस्थामा छ। नियमावलीले काम गरिरहेको छ। त्यो विधेयक के गर्ने भन्ने कुरा आएको छ।’ 

यस्तै बैठकमा स्ववियू निर्वाचनलाई कसरी अगाडि लैजाने? र, नेविसंघलाई कसरी जिताउने भन्ने विषयमा छलफल भएको उनले बताए। 

यस्तै पाथीभरा केबलकार विवादको विषयमा पनि छलफल भएको प्रमुख सचेतक घिमिरेले जानकारी दिए। यस्तै सरकारले ल्याएका ६ अध्यादेशका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग साँझ हुने छलफलमा नै कुरा हुने भन्दै उनले थप कुरा खोल्न चाहेनन्। 

सरकारको समीक्षाबारे कांग्रेसको धारणा सकारात्मक नै परिणाम दिएको रहेको उनले बताए।

प्रकाशित: १६ फाल्गुन २०८१ १८:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App