२० चैत्र २०८१ बुधबार
image/svg+xml ४:२१ पूर्वाह्न
राजनीति

माओवादीको हुलाकी-दौडाहा: ‘आफ्नै वर्ग’तर्फ फर्केकै हो?

‘सर्वहारा वर्गको मुक्तिका लागि’ भन्दै मजदुर, किसान तथा विपन्न वर्गको बलमा सशस्त्र क्रान्ति गरेर स्थापित नेकपा (माओवादी केन्द्र)माथि सत्तामा पुगेपछि तिनै वर्गलाई बिर्सिएको आरोप लाग्ने गरेको छ।

पछिल्लो समय सत्ताबाट हठात् बाहिरिएपछि अध्यक्ष पुष्पकमल दाहाल मौखिक रूपमा जनताका बीचमा जाँदै ‘आफ्नै वर्ग’तर्फ फर्किएको भन्दै आत्मालोचनाको शैलीमा प्रस्तुत हुने गरेका छन्। उनी स्वयम् आफैँ विगतमा माओवादी वर्ग–बैरीसँगको सङ्गतमा बिग्रिएको भन्दै पछुतो बाँड्दै हिँडिरहेका छन्। 

आफ्नो वर्गसँग माओवादी छुट्टिँदा कमजोर बनेको निष्कर्ष अहिले दाहाल सुनाउँदै हिँडिरहेका छन्। जुन प्रमुख सत्य भएको तथ्य पछिल्ला आवधिक निर्वाचनले देखाएका पनि हुन्। २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा कांग्रेस–एमालेभन्दा निकै शक्तिशाली बनेको माओवादी त्यसयता निरन्तर क्रमशः कमजोर बन्दै गएको छ। 

२०७२ सालमै माओवादी र मार्क्सवाद दुबै परित्याग गरेका पूर्वनेता डा. बाबुराम भट्टराईले माओवादीको यो अवस्थालाई ‘ओरालोमा लडेको ढुङ्गा’ भन्ने गरेका छन्। माओवादीको अवस्था भट्टराईको विम्बसँग ठ्याक्कै मिल्छ। ०६४ सालमा २२० सिट जितेको माओवादी ०७०, ०७४ हुँदै ०७९ सम्म आइपुग्दा ३२ सिटमा चाउरिएको छ। 

झापाको कचनकबलस्थित शहीद सुनिल राजवंशीको घरमा खाना खाँदै नेताहरू।

अहिले अध्यक्ष दाहालको प्रण छ–पार्टीलाई ०६४ कै अवस्थामा फर्काउँछु।  उनको दाबी यो छ कि ०८४ को आवधिक निर्वाचनमा माओवादीले ०६४ कै अनुपातमा सिट ल्याउने छ। पछिल्लो पटक सत्ताबाट बाहिरिएपछि भएको स्थानीय तह उपनिर्वाचनको नतिजाबाट केही उत्साहित पनि छन् उनी। त्यसपछि उनी झन् जनतासँग जाने क्रम बढाइरहेका छन्। 

पहिलो यात्रा ‘कोर तराई–मधेस’

मध्य तराई-मधेस हुँदै पूर्वमा झापा र पश्चिममा कञ्चनपुर जोड्ने हुलाकी राजमार्ग निर्माणाधीन छ। कतिपय स्थानमा सडक बनिसकेको छ भने कतिपय ठाउँमा अलपत्र पनि छ। यसको कूल लम्बाई एक हजार १७ किलोमिटर हुन्छ। 

हुलाकी सडक फैलिएको क्षेत्रलाई ‘कोर तराई-मधेस’ क्षेत्र पनि मानिन्छ। त्यही कोर तराई–मधेस माओवादीले पहिलो गन्तव्य बनाएको छ। ‘जनतासँग माओवादी तराई-मधेस जागरण अभियान’ नाम दिएर माओवादी यो सडक यात्रामा निस्किएको छ। 

तर, के यो राजमार्गले माओवादीले भन्ने गरेको आफ्नै वर्ग पुर्‍याउला ? त्यो भने हेर्न बाँकी छ।

माओवादी नेताहरूको दावा भने यो राजमार्गले पार्टीलाई आफ्नै वर्गसम्म शतप्रतिशत पुर्‍याउँदै छ। अहिले उपमहासचिवसम्मका नेताहरूले सुनसरीमा यही कुरा दोहोर्‍याइरहेका छन्। उनीहरू भन्दैछन्- यो यात्राको प्रमुख उद्देश्य नै जनतासँगको सम्बन्ध सुदृढ गर्नु हो, यसले पार्टीलाई आफ्नै वर्गसम्म जोड्छ।

नेताहरू झापाबाट कञ्चनपुरसम्म पुग्दा देश माओवादीमय हुने दाबी गर्छन् । ‘अभियान सोचेभन्दा पनि उत्साहपूर्ण ढंगले अगाडि बढिरहेको छ,’ उपाध्यक्ष पम्फा भुसाल भन्छिन्, ‘जनतामा उत्साह छ। यो अभियान पश्चिम पुग्दा सिङ्गो नेपाल माओवादीका प्रति समर्पित हुने देखिन्छ।’ देशको नेतृत्व माओवादीले नै गर्नुपर्ने कुरा जनताले भनिरहेको उनको थप दाबी छ। 

झापा, मोरङ हुँदै सुनसरी पुगेका माओवादी नेताहरूको भाषण दोहोरिइरहेका छन्। भाषणमा पछिल्लो सरकार भ्रष्टाचारीहरूको संरक्षणका लागि बनेकोदेखि आउँदो आवधिक निर्वाचनमा पार्टी ०६४ तिरै फर्किनेसम्म कुरा नेताहरूबाट सुनिन्छन्।  

बेखुस मधेस खुस होला?

त्यसो त माओवादीसँग मधेस त्यति खुसी छैन। सडकमा हुँदा मधेसको पहिचानको मुद्दा उठाएको माओवादीले सत्तामा पुगेपछि भाषा परिवर्तन गरेपछि आशा टुटेको मधेसबाट सहभागी नेताहरू बताउँछन्। जसको प्रभाव निर्वाचन नतिजामा पनि माओवादीले भोग्दै आएको छ। 

मोरङको धनपालथानको मुस्लिम बस्तीमा खाना खाँदै नेताहरू।

तर, अब भने मधेसले माओवादीलाई पूरै समर्थन गर्ने मधेस प्रदेशका इन्चार्जसमेत रहेका माओवादी उपमहासचिव मातृकाप्रसाद यादव दाबी कस्छन्। ‘माओवादी हरेक पटक राजमार्गमा मात्रै हिँड्यो। यस पटक भने राजमार्गबाट निकै भित्र बस्तीहरूमा हिँड्दै छ,’ उनले भने, ‘आफ्नो कमजोरी स्विकार्दै जनतालाई सबै कुरा बताउँदै छ। अब मधेसले माओवादीलाई पूराका पूरा साथ दिनेछ।’ 

पार्टीले यसपछि उत्तर-दक्षिण अभियान पनि चलाउने भन्दै उपाध्यक्ष यादवले त्यसले पनि थप मद्दत गर्ने बताउँछन्। हुलाकी राजमार्गले पार्टीलाई आफ्नै वर्गसम्म पुर्‍याउला त? भन्ने जिज्ञासाको जवाफमा उनले भने, ‘सदाको जस्तो सतही अभियान होइन यो। अब उत्तर–दक्षिण अभियान पनि चल्छ। त्यसले पनि पार्टीलाई भरपुर सहयोग गर्नेछ। पार्टी अब आफ्नै वर्गतिर फर्कियो। यसबिचमा बाटो बिराएकै हो भनेर हामीले भनिसकेका छौँ।’

विश्लेषक भन्छन्–अमूर्त कुरा 

राजनीतिक विश्लेषक भने अभियानपछि माओवादी आफ्नै वर्गमा फर्किन्छ भन्ने कुरा मान्दैनन्। ‘माओवादी आफ्नै वर्गमा फर्किन्छ भन्नु दिवा स्वप्न हो। जसरी नेताहरूले सजिलै भन्नुभएको छ, त्यो देखिँदैन,’ विश्लेषक चन्द्र किशोर भन्छन्, ‘यो अमूर्त कुरा हो। एक अमूर्त व्यक्तिले पार्टी राखिरहेसम्म पार्टी सुदृढ हुन्न।’

माओवादी एमालेको मत काट्नलाई हुलाकी राजमार्ग हिँडेको उनको टिप्पणी छ। ‘माओवादीको पोलिटीकल्ली एमालेसँग निकट छ। तराई–मधेसमा एमालेको प्रभाव बढ्दो देखिन्छ। त्यसैले माओवादीको नीति हो कि एमालेको मत काट्ने मात्र हो,’ चन्द्र किशोर थप्छन्। 

अर्का राजनीतिक विश्लेषक सुरेन्द्र लाभ माओवादी शुद्धीकरण सजिलो देख्दैनन्। ‘भाषणमा निपुणता तर, कार्यान्वयनमा छैन। माओवादी शुद्धीकरण तथा सुदृढीकरण प्रचण्डबाटै सुरु हुनुपर्छ,’ उनी भन्छन्,‘त्यसपछि मात्रै कार्यकर्ता–जनतामा आउँछ।’ तर, माओवादीप्रति जनताको भरोसा भने नरहेको उनी बताउँछन्। ‘अब पत्याउँदैन, केको फर्किनु आफ्नै वर्गतिर?’, उनले प्रतिप्रश्न गरे। 

शान्ति प्रक्रियापछि माओवादीले आफूमाथिको जनविश्वासलाई लतार्ने काम गरेको भनाइ विश्लेषक लाभको छ। ‘शान्ति पक्रिया अगाडि र  त्यस वरिपरि माओवादीका प्रति जनताको आशा र भरोसा उच्च रहे पनि त्यसपछि जनताले विश्वास गर्न सकिरहेका छैनन्,’ उनले भने।

प्रकाशित: १५ फाल्गुन २०८१ १८:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App