१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १०:५६ पूर्वाह्न
राजनीति

राजनीतिक स्थायित्व दिनु वर्तमान सरकारको मुख्य काम : उपप्रधानमन्त्री सिंह

उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व दिनु वर्तमान सरकारको मुख्य काम रहेको बताएका छन्। नेपाली कांग्रेस बाँकेले पार्टी कार्यालयमा मंगलबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले राजनीतिक स्थायित्व भएपछि मात्र विकास निर्माण लगायतका काम गर्न सकिने बताए।

संघियताको भावना अनुरूप वर्तमान सरकार बनेको प्रष्ट पारे। 'यो सरकार धेरै ठूलो काम गर्नलाई आएको होइन, राजनीतिक स्थायित्व दिनको लागि आएको हो,' सिंहले भने। पार्टीको तर्फबाट नेतृत्व गरेर आफू उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्री भएको स्मरण गराउँदै भने, 'म उपप्रधानमन्त्री हुँदैमा तपाईंहरूका सबै काम तुरुन्तै नहुन सक्छ, प्रक्रिया हुन्छ।'  

कांग्रेस-एमालेबीच भएको सहमति अनुसार आउँदो निर्वाचन कांग्रेसकै नेतृत्वमा हुने विश्वास व्यक्त गरे। 'निर्वाचन कांग्रेसकै नेतृत्वमा हुने कुरामा हामी विश्वस्त होऔं, निर्वाचन हुनु भन्दा अगाडि पार्टीको संगठन बनाऔँ, बुथ कमिटीदेखि माथीसम्म संगठन बनाऔँ,' उपप्रधानमन्त्री सिंहले भने, 'निर्वाचनमा मेसिन नै पार्टी संगठन हो, आम मतदातासम्म पुग्नलाई संगठन चाहिन्छ।'  

अर्को प्रसंगमा कांग्रेसका नेता समेत रहेका सिंहले पार्टीका हरेक काम गर्दा कांग्रेसलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताए। 'हामीमा राजनीतिक संस्कार हुनुपर्यो, नेताहरूले सिकाएको कुरालाई सबैले पालना गर्नुपर्यो,' उनले भने, 'कांग्रेस जिम्मेवार पार्टी हो, हामी पनि जिम्मेवार बन्नुपर्छ।'

प्रकाशित: १३ फाल्गुन २०८१ १२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App