तीन हप्तायता समाजवादी मोर्चाको गतिविधि शून्य अवस्थामा छ। माघ १५ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा विचार सभाको आयोजना गरेको मोर्चा अहिले चुपचाप छ।
मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी (नेसपा)छन्। यी दलहरूले मोर्चामार्फत जनताको आवाज सरकारलाई सुनाउने,सरकारका गलत गतिविधिविरुद्ध खबरदारी गर्ने भने पनि अहिले मोर्चा आफैँ गतिविधिविहीनको अवस्थामा छ।
त्यसो त खासगरी मोर्चासम्बद्ध दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादी आन्तरिक कार्यक्रमहरूमा नै व्यस्त छन्। माओवादी केन्द्रले पार्टी सुदृढीकरणका लागि मेची-महाकाली यात्रा गर्दैछ। जुन फागुन १२ गतेबाट सुरु हुनेछ। यस्तै एकीकृत समाजवादीले पनि फागुन ९ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ। उसले यसकै तयारी गरिरहेको छ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महेन्द्र राय यादव-गंगानारायण श्रेष्ठ पक्षीय नेपाल समाजवादी पार्टी (नेसपा) भने आन्तरिक रूपमा त्यति व्यस्त छैनन्। त्यसैले उनीहरूले समाजवादी मोर्चा 'भाईब्रेन्ट' नभएको बताइरहेका छन्। तर, मुख्यत: मोर्चाका दुई ठूला दल माओवादी केन्द्र र एकीकृत समाजवादी आन्तरिक कार्यक्रमहरूमा व्यस्त भइरहँदा कुरेरै बस्नुपर्ने बाध्यता उनीहरूलाई पनि छ।
मोर्चा सक्रिय बनाएर तीन काम गर्ने
गत माघ १५ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित विचार सभामा मुख्य नेताहरूले मोर्चालाई सक्रिय बनाइराख्ने बताएका थिए। तर, ठीक त्यस बेलैदेखि मोर्चा सुस्तायो, गतिविधिविहीनको अवस्थामा पुग्यो।
अझै फागुन महिनाभरि मोर्चा सक्रिय नहुने माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा बताउँछन्। 'मोर्चामा जुन जुन दल छौँ। हामीहरू आफ्नै आन्तरिक गतिविधिमा भुलियौँ। त्यसैले अलिक गतिविधिविहीन देखिएको हो। तर, पूरै सुस्ताएको पनि छैन। अझै यो महिनाभरि अलिक कार्यक्रमहरू गर्न नपाइएला। तर, त्यसपछि चाहिँ सक्रिय हुन्छौँ,' शर्माले भने।
मोर्चा सक्रिय भएपछि मुख्यत: तीन काम गर्ने शर्मा बताउँछन्। उनले भनेअनुसार विगतमा भएका त्रुटिहरू सच्याउँदै थप योजना र कार्यक्रम बनाउने मोर्चाको पहिलो काम हुनेछ। यसैगरी मोर्चासम्बद्ध दलहरूका बीचमा एकताका लागि बहस चलाउने काम पनि गरिने शर्माले बताए।
योसँगै एकताका लागि आवश्यक गृहकार्य गर्ने कामलाई मोर्चाले तेस्रो प्राथमिकतामा राखेको शर्माले बताएका छन्। 'यससँगै सुशासन, सामाजिक न्याय र आर्थिक विकाससँगै भ्रष्टाचारलगायतका गतिविधिविरुद्ध मखबरदारी गर्नेछ। यो त सधैँ गरिने नै भयो,' उनले भने।
मोर्चालाई पार्टीमा बदल्ने
सम्बद्ध दलहरूबीच मोर्चालाई एउटै पार्टीमा बदल्नेबारे पनि बेला-बेला छलफल हुने गरेको छ। तर, यसले मूर्त रूप भने लिएको छैन।
त्यसो त मोर्चामा छुट्टै अस्तित्वमा रहेका माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी (नेसपा) निकट भविष्यमै एक हुँदैछन्। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महेन्द्र राययादव-गंगानारायण श्रेष्ठ पक्षीय नेपाल समाजवादी पार्टी (नेसपा) बीच चाँडै पार्टी एकता हुँदैछ।
नेसपा र नेकपा दुबै माओवादी केन्द्रसँग पार्टी एकताका लागि तयार छन्। बरु उनीहरूले माओवादी केन्द्रकै कारणले एकतामा ढिलाइ भइरहेको बताउन थालेका छन्। तर, उनीहरू एकताबाट भाग्ने देखिँदैन। माओवादी केन्द्रले एकताका केही प्राविधिक कार्यहरू गर्न बाँकी रहेको बताउँदै आएको छ।

यसपछि अब मोर्चामा एकीकृत समाजवादी मात्रै बाँकी रहन्छ। त्यसैले माओवादी केन्द्रले सम्भव भएसम्म उहीसँग अगाडि पार्टी एकता गर्ने मनसाय बनाएको बताइन्छ। जसै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत समाजवादीसँग चाँडै एकता हुने पनि बताउँदै आएका छन्।
यसअघि चितवन र सुर्खेत पार्टी कार्यक्रमको सिलसिलामा पुगेका उनले यही बताएका थिए। उनले एकीकृत समाजवादीसँग एकताको आधार तयार हुँदै गएको बताउने गरेका छन्। यसबारे माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटासँग जिज्ञासा राख्दा उनले भने, 'यसबारे केही भन्नै परेन। कुरा प्रष्टै छ, हाम्रो अध्यक्षले जे भन्नुभयो, कुरा त्यही हो।'
माओवादी केन्द्रका सचिव दीनानाथ शर्माको भनाइ पनि त्यही छ। 'एकीकृत समाजवादीसँग चाँडै एकता हुनसक्छ,' शर्माले भनेका छन्, 'त्यसका लागि आधार तयार हुँदैछ।'
एकीकृत समाजवादीका उपाध्यक्ष डा. बेदुराभ भुसाल पनि माओवादी केन्द्रसँग एकता हुँदैन भन्दैनन्। केही दिन अगाडि नागरिकसँग संवादका क्रममा उनले भनेका थिए, 'माओवादी केन्द्रसँग मात्रै होइन, सबै कम्युनिष्ट पार्टीहरूका बीचमा एकता हुनुपर्छ भन्ने हाम्रो सैद्धान्तिक बुझाइ हो। यसमा छलफल गर्नुपर्छ।'
माओवादी केन्द्र र एकीकृत समाजवादीका बीचमा एकताका लागि चार नेताहरू सक्रिय रहेको बताइन्छ। माओवादी केन्द्रका महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका उपाध्यक्षद्वय डा. वेदुराम भुसाल र प्रमेश हमाल एकताका लागि सक्रिय रहेको चर्चा छ। अहिले खासगरी माओवादी केन्द्रको प्राथमिकता नेकपा र नेसपासँगको एकताभन्दा एकीकृत समाजवादीसँगको एकतामा रहेको पनि बताइन्छ।
एक नेता भन्छन्, 'समाजवादी मोर्चामा रहेका दलहरूबीच नै एकता गर्ने प्रयास हो। त्यसका लागि काम गर्छौँ।'
प्रकाशित: ६ फाल्गुन २०८१ २०:२७ मंगलबार