लुम्बिनी प्रदेशको पर्यटन प्रवर्धनका लागि पर्यटन नीति निर्माणमा जुटेको प्रदेश सरकारले नीति निर्माणका लागि सुझाव सङ्कलन गरिरहेको छ।
उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले पर्यटन मैत्री नीति कसरी निर्माण सकिन्छ ? भन्ने विषयमा जनप्रतिनिधि तथा सरोकारवालाहरू सँग सुझाव लिइरहेको हो।
केही समय अघि देउखुरीको भालुवाङमा पर्यटन नीतिका बारेमा छलफल चलाएको मन्त्रालयले अहिले भेगीय रूपमै सुझाव सङ्कलनको काम प्रारम्भ गरेको हो।
२९ माघमा कोहलपुरमा त्यस क्षेत्रका प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, पर्यटन एवं व्यवसायिहरुबाट मन्त्रालयले सुझाव लिएको थियो।
कोहलपुरमा बाँके तथा बर्दियाका सरोकारवालाहरुको सहभागिता रहेको थियो। ‘पर्यटन नीतिलाई कसरी पर्यटन मुखी बनाउन सकिन्छ ? अर्थात् कस्तो खालको नीति बन्यो भने हाम्रो प्रदेशको पर्यटन विकासमा फड्को मार्न सकिन्छ ? भन्ने विषयमा सुझाव लिने काम भएको हो,’ उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने ‘सबैको साझा सुझावका आधारमा पर्यटन नीति निर्माणको कामलाई टुंगोमा पुर्याउँछौँ।’ मन्त्री न्यौपानेले मन्त्रीका रुपमा पदभार ग्रहण गर्दा पर्यटन नीति निर्माण गर्ने आफ्नो पहिलो निर्णय गरेका थिए।
बाँकेको कोहलपुरमा कार्यक्रम गरेर सुझाव सङ्कलन गरेको मन्त्रालयले फागुन ६ मा रोल्पा र ८ मा बुटवलमा पनि सुझाव सङ्कलन कार्यक्रम गरिने मन्त्रालयले जनाएको छ।
रोल्पामा हुने कार्यक्रममा रोल्पा तथा छिमेकी पहाडी जिल्लाका सांसदहरू, स्थानीय तहका जनप्रतिनिधि तथा पर्यटन विज्ञ एवं व्यवसायिहरुको सहभागिता रहने छ।
यसैगरि, रुपन्देहीको बुटवलमा हुने कार्यक्रममा रुपन्देहीसहित आसपासका जिल्लाका सरोकारवालाहरुको उपस्थिति रहने मन्त्रालयले जनाएको छ।
पर्यटन नीति निर्माणका लागि सुझाव सङ्कलन गरिरहेको मन्त्रालयले यी सुझावका आधारमा नीतिको ड्राफ्ट तयार पार्ने छ। मन्त्रालय मार्फत गाउँपालिका महासङ्घले सुझाव सङ्कलनको काम गरिरहेको र महासङ्घले आफ्नो ड्राफ्ट मन्त्रालयमा बुझाउने छ।
महासङ्घले १० फागुनमा सङ्कलन गरिएका सुझाव समेटेर पर्यटन नीतिको मस्यौदा मन्त्रालयलाई बुझाउने छ। ‘मन्त्रालयलाई प्राप्त हुने नीतिको मस्यौदालाई मन्त्रालयले फेरी विश्लेषण गरेर यसलाई अन्तिम रूप दिने छ,’ मन्त्री न्यौपानेले भने ‘मन्त्रालयबाट मन्त्री स्तरीय निर्णय भए पछि नीति पासका लागि मन्त्री परिषद्मा पठाइने छ।’
नीति पास गर्नका लागि अर्थ सहित कानुन मन्त्रालय हुँदै मन्त्री परिषद्मा पठाइने छ। मन्त्रीपरिषद् बैठकबाट पास भयो भने पर्यटन नीति कार्यान्वयनमा आउने छ।
मन्त्रालयका अनुसार पर्यटन नीति निर्माणका लागि पर्यटन सम्बन्धी बृहत् योजनालाई मात्रै प्राथमिकता दिन सुझाव प्राप्त भएका छन्। साना टुक्रे योजनाहरूलाई प्राथमिकता दिँदा पर्यटन प्रवर्धन हुन नसक्ने भन्दै ठूला योजनाहरूको पहिचान गरेर मात्रै लगानी गर्नु पर्ने सुझाव सरोकारवालाहरूबाट आएको छ।
‘साना टुक्रे योजनाहरूमा लगानी गरेर पर्यटन प्रवर्धन हुन सक्दैन भन्ने सुझाव प्राप्त भएका छन्,’ मन्त्री न्यौपानेले भने ‘ठूला आयोजना छनौट गरेर त्यसमा लगानी गर्न सके मात्रै पर्यटकलाई आकर्षण गर्न सकिन्छ र यहाँको पर्यटन विकासमा टेवा पुग्छ भन्ने निष्कर्ष मन्त्रालयको पनि रहँदै आएको छ।’
त्यसोत, मन्त्री न्यौपानेले सार्वजनिक कार्यक्रमहरुमै पनि पर्यटन विकासका नाममा स-साना मन्दिरका लागि बजेट माग्न नआउन अपिल गर्दै आएका छन्। बरु उनले बृहत् योजनाको पहिचान गरेर सिफारिसका लागि आउन सल्लाह दिँदै आएका छन्।
यसैगरि बाह्य पर्यटकहरूका लागि सहज आवागमन तथा उचित बसोबास एवं खानपानको व्यवस्थापन हुनु पर्ने सुझाव प्राप्त भएको मन्त्रालयले जनाएको छ। पर्यटन सर्किट निर्माणसँगै पर्यटन उद्योग निर्माणमा ध्यान दिइनु पर्ने सुझाव सरोकारवालाहरुको छ।
‘लुम्बिनी प्रदेशको पर्यटन विकासका लागि पर्यटन उद्योग निर्माणमा ध्यान दिइनु पर्ने सुझाव प्राप्त भएका छन्,’ मन्त्रालयका पर्यटन शाखा प्रमुख गणेश घिमिरेलेले भने ‘यो सँगै पर्यटकहरूको उचित बसोबास तथा खानपानको व्यवस्थापनमा ध्यान दिइनु पर्ने सुझाव सरोकारवालाहरुको छ।’
प्राप्त सुझावका आधारमा पर्यटन नीति निर्माण गरेर काम अघि बढाउने र पर्यटकहरूको संख्या वृद्धि गर्ने लक्ष्य मन्त्रालयको छ।
प्रकाशित: ३ फाल्गुन २०८१ १८:२५ शनिबार