१० चैत्र २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेससँग प्रतिस्पर्धा र सहकार्य गर्दै अघि बढ्नुपर्छ : पोखरेल

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको आवश्यकताका कारण प्रतिस्पर्धी पार्टी नेपाली कांग्रेससँग मिल्नुपरेको प्रस्टीकरण दिएका छन्। एमाले सर्लाही जिल्ला कमिटीले सोमबार आयोजना गरेको वडा केन्द्रित तीन महिने अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले विगतमा पनि आवश्यकता अनुसार ठूला पार्टीहरू मिल्ने र प्रतिस्पर्धा गर्ने गरेको उदाहरण दिए।

'हामीलाई कांग्रेससँग प्रतिस्पर्धा गर्ने पो हो किन मिलेको भनेर प्रश्न गर्नेहरू छन्,' उनले भने, 'ठूला पार्टीहरू खास अवस्थामा मिलेका पनि छन् र स्वस्थ प्रतिस्पर्धा पनि गरेका छन्। मुलुकमा समस्या आउँछ मिल्छन्, जुन विगतदेखि नै हुँदै आएको छ। प्रतिस्पर्धा र सहकार्य गर्दै अघि बढ्नुपर्छ।'

वि.सं. २००७ सालमा पनि पार्टीहरू मिलेको उनले बताए। त्यस्तै, २०१७ सालमा, २०४६ सालमा, २०६२ सालमा र संविधान जारी गर्दा पनि पार्टीहरू मिलेको पोखरेलको तर्क छ। 'आज पनि अराजकता मौलाउने, राष्ट्रियता खतरामा पर्ने, राष्ट्रविरोधीहरू सल्बलाउँदा र विदेशी हस्तक्षेप बढ्दा हामी मिल्नुपर्ने अवस्था आएको हो,' उनले भने।

आगामी चुनावमा राष्ट्रियता बलियो बनाउन र जनताको हितमा काम गराउन पनि एमालेलाई जिताउन जरुरी रहेको उनले बताए। म्याजिक नम्बरवालालाई साइजमा राख्न एमाले बलियो र शक्तिशाली हुन जरुरी रहेको दाबी उनले गरे।

'दुई ठूला जनसंख्या भएका शक्तिशाली मुलुकको बीचमा रहेर आफ्नो देशको विकास गर्दै अगाडि बढ्न पनि एमाले राष्ट्रिय र निर्णायक शक्ति बन्नुपर्छ,' वरिष्ठ उपाध्यक्ष पोखरेलले भने। नेपालमा भएको परिवर्तन यहाँको मौलिक परिवर्तन भएको र चीन, रुस तथा अरू देशको भन्दा फरक भएको उनको तर्क छ।

कार्यक्रमलाई संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, जिल्ला इन्चार्ज हरि उप्रेतीलगायतले पनि सम्बोधन गरेका थिए।

प्रकाशित: २९ माघ २०८१ ११:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App