नेपाली कांग्रेस कोशी प्रदेश समितिले थालेको जागरण अभियानका क्रममा सुनसरीलाई धार्मिक हब बनाउने प्रतिबद्धता अगुवा नेताहरुले गरेका छन्। सुनसरी धार्मिक पर्यटनको हिसाबले नामुद स्थानमा पर्छ। यहाँ स्वदेशी तथा विदेशी धार्मिक पर्यटकको जहिल्यै जमघट हुने गर्छ।
यहाँ वराहक्षेत्र मन्दिर, धरानमा दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा, शिव जट्टा, पाँचकन्यामा पाँचकन्या मन्दिर, सिंगियामा रामधुनी, विष्णुपादुकामा विष्णुपादुका मन्दिरलगायतका धार्मिक स्थल छन्। बराहक्षेत्रको चतरामा २०५९ सालदेखि १२/१२ वर्षमा महाकुम्भ र छ/छ वर्षमा अर्ध कुम्भ मेला लाग्ने गर्छ।
नेपाली कांग्रेसको ‘कचनकवल –सगरमाथा जागरण अभियान’ मा सोमबार बराहक्षेत्रमा आयोजित धार्मिक पर्यटनको सम्भावना र चुनौती विषयक कार्यक्रममा प्रदेश योजना आयोगका सदस्य नारायण कोइरालाले सुनसरी जिल्लामा रहेका धार्मिक पर्यटकीय क्षेत्रको बारेमा प्रस्ट्याए।
नेपाली कांग्रेस प्रदेश समितिले नेपालकै होचो भूभाग कचनकवल र विश्वकै अग्लो स्थान सगरमाथा सम्मको छ महिने जागरण अभियान पुस २४ गते झापाको काँकडभिट्टाबाट सुरु गरेको थियो।
त्यही जागरण कार्यक्रमका क्रममा सुनसरीको धार्मिक पर्यटनको सम्भवना र चुनौतीको विषयमा पर्यटन व्यवसायी वासुदेव बरालले व्याख्या गरे। उनले कोशी प्रदेशमा आउने पर्यटक र पर्यटकीय क्षेत्रको विषयमा कार्यपत्र प्रस्तुत समेत गरे।
कार्यपत्रमा धरानमा विजयपुर, दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा, शिव जट्टा र पाँचकन्याको पाँचकन्या मन्दिरले पर्यटकलाई लोभ्याउने गरेको उल्लेख छ। धरान वडा नं. १४ को विजयपुर धरानको सीरमा रहेको छ। जहाँ दुई दर्जन मठ मन्दिर रहेका छन्। यसले धरानलाई धार्मिक पर्यटनको परिचय दिएको छ।
वराहक्षेत्र नगरपालिकाले पनि वर्षेनी धार्मिक क्षेत्रको विकासका लागि बजेट, नीति तथा कार्यक्रममा ठुलै रकम खर्चने गरेको जनाएको छ। चतराबाट सूर्य कुन्डसम्मको लागि केवलकारको अध्ययन सुरु समेत गरिने भएको छ।
रामधुनी नगरपालिकाले वडा नं-४ मा रहेको रामधुनी मन्दिर पहिलो प्राथमिकतामा राखेर विकास गरि रहेको छ। रामधुनीको वडा नं-४ मा रहेको मन्दिर इतिहास त्रेता युगमा भगवान् राम आएर बसेको स्थानका रूपमा चिनिन्छ। त्यही भएर त्यही एक रात बास बसिने वालसन्तले बताए। रामधुनीमा अस्ना प्रजातिका मुढा निरन्तर जलाइन्छ। त्रेता युगदेखि अहिलेसम्म त्यहाँ आगो ननिभेको विश्वास गरिन्छ।
भगवान् राम भारतको आयोध्यापुरबाट जनकपुर हुँदै पूर्व आएका बेला बास बसेको स्थान रामधुनी भएको किंवदन्तीमा रहेको छ। रामले बालेको आगो निभ्न नदिईकन बाबा वनखण्डीले त्यसलाई उजागर गरेको पाइन्छ। यसको काठको बिगुत प्रसादका रूपमा लगाउने चलन छ। सखुवामा आँप फल्छ भन्ने किंवदन्ती पनि रहेको पाइन्छ।
यसरी सुनसरी धार्मिक हिसाबमा सम्भावना बोकेको क्षेत्र भएकाले कार्यक्रममा नेपाली कांग्रेस नेता विजयकुमार गच्छयदारले सुनसरीलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्न अब पार्टी योजनाबद्ध ढंगले लाग्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य राजीव कोइराला, मीनकुमार विश्वकर्मा, नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी, कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई, पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले पनि अब पार्टीले सुनसरीलाई धार्मिक पर्यटकीय ढंगले अगाडि बढाउन नेतृत्वदायी भूमिका खेलेर नयाँ पुस्तालाई सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने धारण राखे।
कार्यक्रम नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिका सभापति एवम् नेपाली कांग्रेस कोशी प्रदेश सभा संसदीय दलका नेता उद्दप थापाको सभापतित्वमा भएको थियो।
प्रकाशित: २८ माघ २०८१ १८:२१ सोमबार