८ माघ २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेपाललाई ‘आइटी हब’ बनाउने समय आयो: प्रधानमन्त्री

तस्बिर: प्रधानमन्त्रीको सचिवालयबाट।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई डिजिटल क्षेत्रमा अगाडि बढाउने सङ्कल्प गर्दै देशभित्रै आइटी इन्फ्रास्ट्रक्चर र दक्ष जनशक्ति विकास गर्न विशेष योजना अघि सारेका छन्।

मंगलबार ‘आइटी उद्यमीसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै उनले प्रविधिको इतिहास, हालको अवस्था, र आगामी सम्भावनाकोबारेमा चर्चा गरे।

प्रधानमन्त्री ओलीले प्रविधि क्षेत्रको विकासलाई पछ्याउन नेपालले भोग्नुपरेका अवरोधहरूको स्मरण गर्दै भने, “आइटी बिसौँ शताब्दीको उपज हो, तर नेपालले यसलाई समयमै आत्मसात् गर्न सकेन। सन् १९६० ताका विश्वले कलर टेलिभिजन देख्दै गर्दा हामी रेडियोको कल्पनामा थियौं। हामीले समय खेर फाल्यौं, जसको असर आज पनि परिरहेको छ।”

उनले १९९४ मा आफ्नो नेतृत्वमा बनेको सरकारले आइटीको महत्त्व बुझेको र यसको विकासका लागि आधारशिला तयार गर्न केन्द्रित रहेको सुनाए। “तर, राजनीतिक स्थायित्वको अभावले तीव्र गतिमा अघि बढ्न सकेनौँ।” उनले भने।

प्रधानमन्त्री ओलीले नेपालको डिजिटल यात्रालाई तीव्रता दिन सरकारले ‘डिजिटल नेपाल’ अवधारणा अघि सारेको जानकारी दिए। “आइटी फर अल, आइटी फर विजनेस, आइटी फर एजुकेसन, र आइटी फर इन्फर्मेशन भन्ने लक्ष्यका साथ हामी अघि बढिरहेका छौं। हामीले मोबाइल, सफ्टवेयर, र कृत्रिम बुद्धिमत्ताका माध्यमबाट प्रत्येक नेपालीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने सङ्कल्प गरेका छौं,” उनले थपे।

प्रधानमन्त्रीले दक्षिण एसियाको आइटी केन्द्र बनाउने उद्देश्यलाई जोड दिँदै भने, “नेपालमा दक्ष र सक्षम जनशक्ति छ, हामीले उनीहरूको प्रतिभालाई सदुपयोग गरेर देशभित्र रोजगारीका अवसर सिर्जना गर्न सक्छौं। यसका लागि सरकार आफैं पनि आइटीको ठूलो बजार बन्न सक्छ।”

कार्यक्रममा सहभागी आइटी उद्यमीहरूसँग संवाद गर्दै प्रधानमन्त्रीले नेपाली युवाहरूलाई सक्षम र आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध रहेको जनाए। “हाम्रो युवाहरूको प्रतिभा कुनै पनि हिसाबले कम छैन। हामीले उनीहरूको क्षमता वृद्धि गर्दै देशलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउनेछौं,” उनले भने।

प्रधानमन्त्रीले भारतको ‘ग्रीन रिभोल्युसन’ र आइटी क्रान्तिको उदाहरण दिँदै नेपालले त्यसबेलाको अवसर गुमाए पनि अब पुनः आफ्नो स्थान बनाउन सक्छ भन्ने विश्वास व्यक्त गरे।

उनले नेपालको प्राचीन ज्ञान र पूर्वजहरूको योगदानलाई स्मरण गर्दै भने, “हाम्रा पूर्वजहरू खगोलशास्त्र, गणित, र चिकित्सा शास्त्रका क्षेत्रमा अग्रणी थिए। आजको दिनमा हामीले त्यो जीनियसलाई पुनः उजागर गर्दै नेपाललाई प्रविधिको अग्रपङ्क्तिमा उभ्याउनुपर्छ।”

प्रधानमन्त्री ओलीले सबैलाई आइटी क्रान्तिमा योगदान दिन आह्वान गरे। “अब समय आएको छ कि हामीले आफ्नो उत्पादन घरघरमा पुर्‍याएर जनताको जीवनस्तर सुधार्ने, रोजगारी सिर्जना गर्ने, र देशलाई आत्मनिर्भर बनाउने दिशामा काम गरौँ। आइटी क्षेत्रले यो सम्भावना पुरा गर्न मुख्य भूमिका खेल्नेछ।”

प्रकाशित: ८ माघ २०८१ १५:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App