सांसदहरूले नेपालमा उत्पादन गर्न सकिने सम्भावना भएका कृषिजन्य वस्तुहरूको भन्सार वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा भन्सार ऐनका विषयमा आयोजित छलफलमा सांसदहरूले यस्तो सुझाव दिएका हुन्।
सांसदहरूले नेपालमा उत्पादन हुने वस्तुहरू पनि भारतबाट आयात भइरहेको अवस्थालाई नियन्त्रण गर्न भन्सार दर वृद्धि गर्नुपर्नेमा जोड दिए। साथै, गैरभन्सारमार्फत वस्तुहरू नेपाल भित्रिन नदिन सुरक्षा व्यवस्था बलियो बनाउनु पर्ने धारणा राखे।
नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले कृषिमा आत्मनिर्भरता प्राप्त गर्न मुलुकको उत्पादन क्षमता बढाउनुपर्ने बताए। उनले भने "उत्पादन वृद्धि नभएसम्म लागत कम हुँदैन। आन्तरिक उत्पादन प्रतिस्पर्धी बनाउन सहुलियत र अनुदान दिनु जरुरी छ। कृषि अनुदानको सदुपयोगले लागत घटाउन मद्दत पुर्याउँछ।"
डा. महतले कृषि मन्त्रालयबाट कार्यविधि परिमार्जन गरी उत्पादनमा सहुलियत प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए।
नेकपा एमालेकी सांसद जुलीकुमारी महतोले नेपाली कृषकहरूले भोगेका समस्या भन्सार ऐनमा समावेश गर्नुपर्ने बताइन्। उनले कृषि क्षेत्रका चुहावटहरू नियन्त्रण गरी कृषकको हितमा ऐन निर्माण गर्ने प्रतिबद्धता जनाइन्।
त्यसैगरी, माओवादी केन्द्रका सांसद छिरीङ डम्डुल लामाले किसानहरूको हितका लागि नीति निर्माणमा वास्तविक कृषकका सुझाव समेट्नुपर्ने बताए। उनले भने "भन्सार ऐन किसानलाई मार्ने होइन, किसान बचाउने नीति बन्नुपर्छ।"
नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले अर्थसमितिले किसानमैत्री नीति बनाउनुपर्ने आवश्यकता औँल्याउँदै कृषि क्षेत्रमा भन्सारसम्बन्धी समस्या समाधान गर्न सुझाव दिए।
समितिमा किसानहरूले नेपालमा उत्पादन हुने कृषिजन्य वस्तुलाई प्रोत्साहन दिनेगरी भन्सार नीति बनाउन आग्रह गरेका छन्। उनीहरूले उत्पादनको स्रोत र समय अवधि हेरेर मात्र वस्तुहरू नेपाल प्रवेश गराउनुपर्ने सुझाव दिए।
बैठकमा सांसदहरूले कृषि उत्पादनको प्रतिस्पर्धात्मक क्षमताका लागि भन्सार नीतिको पुनरावलोकन आवश्यक रहेको धारणा व्यक्त गरे।
प्रकाशित: २९ पुस २०८१ १९:३८ सोमबार