अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिको २३औं राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका लागि श्याम रोक्काले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन् । 'जसको नीति, उसैको नेतृत्व' र 'विद्यार्थी आफैंले परिवर्तनको नेतृत्व गर्नुपर्ने' मान्यतासहित रोक्काले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
उनले असमान शिक्षाको अन्त्य गर्ने र शैक्षिक माफियाविरुद्धको निर्णायक लडाइँ लड्ने अठोटसहित उम्मेदवारी दिएको बताएका छन् । उनले साथै जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ३२ वर्षे उमेदर हद तोकिएका कारण यसपालि को नेतृत्वमा आउँछ भनेर सङ्गठनभित्र रुचिपूर्वक हेरिएको छ । विद्यार्थी प्रतिनिधिहरूको निर्णयले नयाँ नेतृत्वको तय गर्नेछ।
रोक्काले विभिन्न एजेन्डा प्रस्तुत गर्दै आफ्नो उम्मेदवारीलाई बलियो बनाउन प्रयास गरेका छन् । उनले प्रविधिमैत्री शिक्षा र रचनात्मक विद्यार्थी आन्दोलनको विकास, सत्ताको लोभमा फसेको विद्यार्थी आन्दोलनलाई सडक आन्दोलनको पहिचानमा रूपान्तरण, विद्यालयदेखि विश्वविद्यालयसम्म शैक्षिक सुधार कार्यक्रम सञ्चालन, पढ्दै कमाउँदै अभियानको सुरुवात, निःशुल्क र समान शिक्षा सुनिश्चित गर्न संघर्ष, गुणस्तरीय स्ववियुको विकास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका साथै सामूहिक प्रयासको आवश्यकतालाई एजेन्डामा समावेश गरेका छन् ।
रोक्काले विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन व्यक्तिगत प्रयास मात्र पर्याप्त नभएको भन्दै सामूहिक बहस र सहभागिताको आवश्यकतामा जोड दिएका छन् । उनले आफ्नो एजेन्डालाई नियमित रूपमा लिखित सामग्री र भिडियो सन्देशमार्फत सार्वजनिक गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
रोक्काले आफू सहिद परिवारको सदस्य भएकाले पार्टीका शीर्ष नेतादेखि प्रतिनिधिसम्मको सहानुभूति र समर्थन रहेको दाबी गरेका छन् । बागमती प्रदेश आफ्नो गृह क्षेत्र भएकाले र विशेष प्रदेशमा आफ्नो कार्यक्षेत्र बलियो रहेको कारण आफूलाई जित सहज हुने विश्वास उनले व्यक्त गरेका छन् ।
यसअघि उमेर हदबन्दीका कारण असोज २–५ गतेको उद्घाटनपछि स्थगित भएको सम्मेलनलाई माघ ५ गते मनोनयन दर्ता र माघ १२ गते मतदानको मिति तय गर्दै अघि बढाइएको छ।
प्रकाशित: २९ पुस २०८१ १८:३६ सोमबार