सरकारले २०८० सालको वैशाख यता विपदमा परेर बेपत्ता भएकाहरूको परिवारले पनि मृतकको सरह राहत दिने निर्णय गरेको छ।
सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले सो निर्णय गरेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए।
उनका अनुसार बैठकले असारदेखि यता विपदबाट भएको क्षति र त्यसको पुनःनिर्माणको लागि प्राधिकरणलाई सम्बन्धित मन्त्रालयमार्फत बजेट दिने निर्णय भएको पनि जानकारी गराए।
उनले भने, ‘मरेका परिवारले त राहत बमोजिम रकम पाउँछन्, बेपत्ता भएकाको नपाउने थियो। २०८० सालको वैशाख भन्दा यता पनि विपदमा परेर बेपत्ता भएकाहरूको परिवारलाई पनि मृतकको सरह राहत दिने निर्णय भएको छ।’
सरकारले एक घर क्षति बराबर अर्को एक घर पनि प्राधिकरणमार्फत पुनः निर्माण गर्ने भएको छ।
प्रकाशित: २९ पुस २०८१ ०९:५२ सोमबार