खोटाङको साकेला गाउँपालिकाले बृद्धबृद्धा, अशक्त र अपाङ्गता भएका नागरिकलाई सेवा सहज बनाउने उद्धेश्यले गाउँगाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । जेष्ठ तथा अशक्त नागरिकलाई भौगोलिक कठिनाईबाट बचाउन वडा–वडामा शिविर सञ्चालन गरी भत्ता वितरण थालिएको गाउँपालिकाले जनाएको छ ।
साकेलाले विगत वर्षहरुदेखि नै शिविर राखेर भत्ता वितरण गर्ने गरे अनुसार चालु वर्षको दोस्रो त्रैमासिक भत्ता पनि शिविरमार्फत नै वितरण गर्न थालेको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए । यसअघि प्रथम त्रैमासिक भत्ता पनि शिविर राखेरै वितरण गरेको थियो । राईका अनुसार ३ वर्षदेखि नै साकेलाको भत्ता वितरण बैँकिङ प्रणालीबाट हुँदै आएको छ । त्यसका लागि शिविरमा गाउँपालिकाका कर्मचारीसँगै बैँकका प्रतिनिधिलाई पनि सहभागी गराइएको छ ।
चालु वर्षको त्रैमासिक भत्ता वितरण गर्न गाउँपालिकाले गत आईतबारदेखि घुम्ती शिविर सञ्चालन गर्न थालेको हो । वडा नम्बर २ को रतन्छास्थित वडा कार्यालयमा सुरु शिविरको पहिलो दिन आईतबार १ सय ८ जना लाभग्राहीले भत्ता बुझेका छन् । उनीहरुलाई १३ लाख २१ हजार रुपैयाँ वितरण गरिएको गाउँपालिकाका सामाजिक सुरक्षा शाखा संयोजक डिएम चामलिङ राईले बताए ।
उनका अनुसार दोस्रो दिन सोमबार १ नम्बरको बाँझेच्यानडाँडास्थित वडा कार्यालयमा राखिएको शिविरबाट ७५ जना लाभान्वित भएका छन् । उनीहरुलाई ८ लाख ८२ हजार रुपैयाँ भत्ता वितरण गरिएको छ । चालु वर्ष दोस्रो त्रैमासिकमा साकेला गाउँपालिकाभरी १ हजार ३ सय ३३ जना भत्ताका लाभग्राही यकिन भएका छन् । उनीहरुका लागि १ करोड ३४ लाख रुपैयाँ निकासा आएको संयोजक चामलिङले बताएका छन् ।
लगातार ७ दिनसम्म सञ्चालन गरिने शिविरको तेस्रो दिन २३ गते मङ्गलबार (आज) १ नं. वडाको डाँडागाउँस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा शिविर राखेर भत्ता वितरण भईरहेको छ । २४ गते बुधबार ३ नम्बर वडा खिदिमामा वितरण गरिनेछ भने २५ गते ४ नम्बर वडा कार्यालय मात्तिममा शिविर राखिनेछ । त्यस्तै अन्तिम दिन २६ गते ५ नम्बर वडा कार्यालय मात्तिमबिर्तामा अन्तिम शिविर राखेर भत्ता बाँड्ने कार्यतालिका रहेको चामलिङले बताए ।
शिविरमा आएर भत्ता बुझ्न नसक्ने लाभग्राहीहरूले भने नेपाल एसबिआई बैँकको देशभरका जुनसुकै शाखामा गएर झिक्न मिल्नेगरी रकम निकासा गरिसकिएको बैँकका प्रतिनिधि अनिलकुमार महतोले बताए ।
गाउँमै शिविर राखेर भत्ता वितरण गरेकोमा बृद्धबृद्धाहरु खुसी देखिन्छन् । शिविर सञ्चालन नहुँदा गाउँपालिका केन्द्र मानेभन्ज्याङसम्म पुग्न बृद्धबृद्धालाई धेरै सकस हुने गरेको थियो । अहिले गाउँमै शिविर राखेर भत्ता लिन बोलाउँदा साह्रै सजिलो भएको शिविरमा भेटिएका बृद्धबृद्धाले बताए । ‘पहिला पहिला एकाविहानै लौरो टेक्दै हिडेर घण्टौँपछि गाउँपालिका पुगिन्थ्यो, साह्रै गाह्रो हुन्थयो’ ८२ वर्षीय पूर्ण कटुवालले भने ‘अचेल त कर्मचारी र बैँकका स्थाफ गाउँमै आउँछन्, पैसा दिएर जान्छन्, सजिलो पारेका छन् ।’
अहिले भत्ता लिन बैँकसम्म जानु पर्ने झन्झट हटाइएको र जनप्रतिनिधि र कर्मचारीहरु पनि मिजासिला भएको अर्का बृद्ध हरिबहादुर मगरले सुनाए । ‘समय पनि बद्लेर होला, अहिले गाउँमै आएर सेवा दिन्छन्, छिटोछिटो पनि गर्छन्’ भत्ता पाएर खुसी देखिएका उनले भने ‘ कर्मचारीले हाँसी हाँसी, झर्कोफर्को नगरी काम गरिदिन्छन्, जनप्रतिनिधिहरुले भित्र लगिदिने, नाम टिपाईदिने, कागज मिलाईदिने काम गर्छन् ।’
प्रकाशित: २३ पुस २०८१ १९:२७ मंगलबार