नेकपा (माओवादी केन्द्र) ले क्रान्तिकारी तथा मार्क्सवादी दलहरूसँग एकताका लागि वार्ता समिति बनाउने निर्णय गरेको छ।
आइतबार सुरु भएर मङ्गलबार (आज) सकिएको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको कोशी प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य हर्कबहादुर नेम्वाङले जानकारी दिए।
उनका अनुसार पार्टीले ६ महिनासम्म 'जनतासँग माओवादी' अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। यस्तै अर्को ६ महिनाभित्र महाधिवेशनमा जाने निर्णय पनि गरेको छ।
अरु के के छन् निर्णय ?
१. ६ महिना 'जनतासँग माओवादी' अभियान सञ्चालन गर्ने र अर्को ६ महिनाभित्र महाधिवेशनमा जाने।
२. 'जनतासँग माओवादी' अभियान हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग र मध्य-पहाडी पुष्पलाल राजमार्गकेन्द्रित गर्ने।
३. क्रान्तिकारी तथा मार्क्सवादीहरूसँग एकताको निम्ति वार्ता समिति बनाउने।
४. माघ १ गतेसम्ममा सबै केन्द्रीय सदस्यहरूको कार्यविभाजन र जिम्मेवारी हेरफेर गरिसक्ने।
५. अवकास प्राप्त विद्यार्थी नेताहरूलाई विभिन्न कमिटीहरूमा व्यवस्थापन गर्ने।
६. विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञहरूलाई पनि पार्टीमा परिचालन र विभिन्न क्षेत्रमा अनुसन्धान गर्न लगाउने।
७. सम्पत्ति विवरण पार्टीमा बुझाउने र पार्टीको लेखा आयोगले अनुगमन गर्ने।
यी प्रस्तावहरू पारित गर्दै बैठक सकिएको नेम्वाङले बताएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहालले पारित प्रस्तावअनुरूप चल्न नेताहरूलाई निर्देशन दिएका छन्।
दाहालको प्रस्ताव पारित
बैठकका बीच अध्यक्ष दाहालले पेस गरेको प्रतिवेदन पारित भएको छ।
'आठौं केन्द्रीय समितिको छैठौँ पूर्ण बैठकमा अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ,' दाहालको सचिवालयले भनेको छ।
प्रकाशित: २३ पुस २०८१ १७:२३ मंगलबार