नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारका विषयमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको उपस्थितिमा छलफल गर्न प्रस्ताव गरेका छन्।
बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै थापाले भ्रष्टाचारका फाइल खोल्ने विषय एकअर्कालाई खुइल्याउने हतियारको रूपमा प्रयोग भइरहेको बताए।
उनले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र शीर्ष नेतृत्वलाई आमन्त्रित गरी कुन–कुन फाइल खोल्ने भन्ने विषयमा स्पष्ट छलफल गर्नुपर्नेमा जोड दिए।
महामन्त्री थापाले भ्रष्टाचारका फाइल खोल्ने विषयले धम्की र राजनीतिक अस्त्रको रूप लिएको भन्दै यसले नागरिकलाई दिक्क बनाएको बताए। “कहिले सरकारमा बसेकाले म फाइल खोलिदिन्छु भन्छन्, कहिले सरकारबाट बाहिर गएकाले मैले फाइल खोल्न लागेको थिएँ भन्छन्। यसले समाजमा अन्योल र अस्थिरता निम्त्याएको छ,” उनले भने।
उनले फाइल खोल्ने जिम्मेवारी अख्तियारलाई दिनुपर्ने र त्यसबारे कानूनले मार्गनिर्देशन गर्नुपर्ने धारणा राखे। थापाले फाइल खोल्ने विषयलाई आरोप–प्रत्यारोपको साधनभन्दा समस्या समाधानको माध्यम बनाउनुपर्ने बताए।
“भ्रष्टाचारलाई राजनीतिक हतियार बनाउने होइन, समस्याको समाधान खोज्नुपर्छ। शेरादरबार, ललितानिवास, गिरिबन्धुजस्ता सबै विवादित फाइल खोल्नुपर्छ,” उनले थपे।
महामन्त्री थापाले शीर्ष नेतृत्वले मिलेर भ्रष्टाचारविरोधी कदम चाल्नुपर्ने र यसका लागि समिति स्तरमै छलफल आयोजना गर्नुपर्ने प्रस्ताव राखेका छन्।
प्रकाशित: १८ पुस २०८१ १५:३५ बिहीबार





