१२ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

शिक्षामन्त्रीलाई विद्यार्थीको प्रश्न- हाम्रो शिक्षा प्रणाली किन प्रयोगात्मक छैन ?

कक्षाकोठामा शिक्षामन्त्री

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई काठमाडौंका विभिन्न विद्यालयको अवलोकनमा गइन्। बुढानीलकण्ठस्थित इम्पेरियल वर्ल्ड स्कूलमा उनले कक्षाकोठामा विद्यार्थीसँग प्रत्यक्ष संवाद गरिन्। यो संवादमा विद्यार्थीहरूले नेपालको वर्तमान शिक्षा प्रणाली, पाठ्यक्रमको गहिराइ, र भविष्यप्रतिको तयारीबारे प्रश्नहरू उठाए।

‘हाम्रो शिक्षा प्रणाली प्रयोगात्मक छैन, भविष्यको करिअर र जीवनमा यसले खासै सहयोग गर्दैन,’ एक विद्यार्थीले मन्त्री भट्टराईलाई भने। उनले अनिवार्य पाठ्यक्रमहरू जस्तै गणितलाई अप्सनल बनाउनुपर्ने सुझाव दिए। अर्का विद्यार्थीले पाठ्यक्रमको विषयवस्तु धेरै मेमोरिवेसमा आधारित भएकाले प्रयोगात्मक बनाउनुपर्ने माग गरे।

विद्यार्थीहरूले एसइई परीक्षाको अनावश्यक दबाब, पाठ्यक्रमको अव्यावहारिकता, र रुचिअनुसारको अध्ययन गर्न पाउने व्यवस्थाको अभावबारे पनि प्रश्न गरे।

जवाफमा मन्त्री भट्टराईले पाठ्यक्रम परिमार्जनको काम भइरहेको बताउँदै विद्यालय आफैंले पाठ्यक्रम चयन गर्न सक्ने कानुनी व्यवस्था भएको जानकारी दिइन्। ‘हाम्रो शिक्षा प्रणालीले विद्यार्थीको रोजाइअनुसार विषय अध्ययनको वातावरण सिर्जना गर्नुपर्नेछ,’ उनले भनिन्।

एसइईबारे उनले भनिन्, ‘मलाई एसइई राष्ट्रिय परीक्षा बोर्डले लिनेपर्ने जरुरी छैन भन्ने लाग्छ। यो विद्यालय तहमै गरिनु उपयुक्त हुनेछ। तर, अहिले नै यसलाई रोक्न सकिँदैन किनभने यो विषय संसदमा छलफलमै छ।’

मन्त्री भट्टराईले सामुदायिक विद्यालयमा उत्कृष्ट कक्षाकोठा निर्माण, निजी र सामुदायिक विद्यालयबीच अनुभव आदान-प्रदान, र कक्षा ९ देखि नै विश्वविद्यालयसँग विद्यार्थीलाई जोड्नेजस्ता योजनाहरू कार्यान्वयन गर्न लागिएको जानकारी दिइन्।

जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष माध्यमिक विद्यालयमा विद्यार्थीहरूले छात्रवृत्ति थप व्यवस्थित गर्न र फरक क्षमताका विद्यार्थीहरूको रुचिअनुसारको शिक्षा सुनिश्चित गर्न आग्रह गरे।

मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा नयाँ संरचनात्मक सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्दै विद्यालयहरूको आवश्यकता पहिचान गर्न स्थानीय तहसँग सहकार्य गर्नुपर्नेमा जोड दिइन्।

विद्यार्थीहरूले संगीत, खेलकुद, र स्वास्थ्य शिक्षाजस्ता विषयमा शिक्षकको अभावबारे चिन्ता व्यक्त गर्दा मन्त्रीले भविष्यमा यस्ता विषयहरूलाई पाठ्यक्रममा समेट्न र योग्य शिक्षक तयार गर्न पहल भइरहेको बताइन्।

प्रकाशित: ११ पुस २०८१ १४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App