१२ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपा कार्यवाहक सभापतिमा अर्याल नै किन ?

पार्टी सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत, कास्कीमा अभियोगपत्र दर्ता भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापति बने डोलप्रसाद अर्याल ।

सोमबार पार्टी मुख्यालय च:मति वनस्थली काठमाडौंमा बसेको सचिवालय बैठकले अर्याललाई आधिकारिक रूपमा कार्यवाहक सभापति बनाएको हो ।

त्यसो त यसअघि पनि अघोषित रूपमा कार्यवाहक सभापतिको जिम्मेवारीमा अर्याल नै थिए । तर, सोमबार भने पार्टीले आधिकारिक रूपमै कार्यवाहक सभापति भनेर निर्णय गर्‍यो ।

अर्याल पार्टीका उपसभापति हुन् । डा. स्वर्णिम वाग्ले पनि रास्वपाका अर्का उपसभापति हुन् । तर, कार्यवाहक भने अर्याल नै बने ।

उसो त वाग्ले अर्यालभन्दा उमेरले जेठो छन् । तर, कार्यवाहक सभापतिमा भने अर्याल आए । रास्वपाको विधानमा कार्यवाहक सभापति बन्ने प्रक्रिया दुईवटा छ । पहिलो, उमेरका आधारमा जेठो र दोस्रो, सभापतिले तोकेको । यसरी हेर्दा उमेरका हिसाबले हो भने स्वत: वाग्ले हुनुपर्थ्यो तर, अर्याल बने ।

कार्यवाहक सभापति बन्ने प्रावधान ।

यसरी बुझ्दा अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी रवि लामिछानेले दिएका हुन् । जसै आइतबार अर्यालले रवि लामिछानेसँग जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमै लामो संवाद गरेका थिए ।

विधानत: नै पाउने कुरामा वाग्लेले किन जोड गरेनन् ? उनी निकट एक नेताका अनुसार वाग्लेले रुचि राखेनन् । 'उहाँले रुचि देखाउनुभएको छैन,' ती नेताले भने, 'डीपीजीले चाहना देखाउनुभयो, उहाँले पाउनुभयो ।'

किन वाग्लेले रुचि नदेखाउनुभएको भन्ने जिज्ञासामा ती नेता भन्छन्, 'नदेखाउने भन्ने कुरा छैन । अबको महाधिवेशनपछि सबै कुराहरू टुङ्गो लाग्दै जान्छ ।'

सहकारी ठगीसम्बन्धी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका रवि लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय, कास्कीमा छन् । उनीविरुद्ध प्रहरीले झन्डै दुई महिना अनुसन्धान गरेर जिल्ला अदालत, कास्कीमा आइतबार मात्रै सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा अभियोगपत्र दर्ता भएको छ ।

यस सम्बन्धमा रवि लामिछानेको बयान मङ्गलबार हुने बताइएको छ । यो बयान र बहसपछि उनी धरौटीमा छुट्ने वा कारबास चलान हुने पक्कापक्की हुनेछ ।

यो पनि पढ्नुहोस्

रास्वपाको कार्यवाहक सभापति डीपी अर्याल

 

प्रकाशित: ८ पुस २०८१ २०:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App