६ पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

बाबुराम भन्छन्ः काँग्रेस, एमाले, माओवादी र मधेसवादी सबै भ्रष्टाचारमा लिप्त छन्

फाइल तस्विर

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले प्रमुख तीन राजनीतिक दलहरू भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन्।  

जनकपुरधाममा शनिबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मधेस प्रदेश कमिटीको कार्यालय उद्‌घाटन गर्दै उनले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र मधेसवादी दलहरू चरम भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका हुन्।  

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईका अनुसार, यी दलहरूले सरकार फेरिनासाथ एकले अर्कोलाई भ्रष्टाचारी भन्दै भ्रष्टाचार लुकाउने प्रयास गर्दै आएका छन्।  

उनले भने, “सबै पार्टी जसरी चरम भ्रष्टाचारमा डुबेका छन्, नेताहरू सबै कमिसनखोरीमा गाँजिएका छन्। अन्तर्राष्ट्रिय स्तरका अर्बौं, अर्बका भ्रष्टाचार भएका छन्। त्यसैले यि ठूलाठूला नेताहरू पालैपालो सत्तामा बसेर आफ्नो भ्रष्टाचारको काण्ड लुकाउने प्रयत्नमा छन्। प्रत्येक पटक सरकार फेरिन्छ, अनि अर्कोलाई भ्रष्टाचारी भन्छ। आफ्नो लुकाउँछ।”  

भट्टराईले देशको मुख्य समस्या गरिबी र बेरोजगारी भएको पनि स्पष्ट पारेका छन्। उनले भ्रष्टाचारको अन्त्यका लागि अधिकार सम्पन्न आयोग गठन गर्ने र त्यसले सबै भ्रष्टाचारीहरूको छानबिन गरेर कठघरामा उभ्याउने दाबी पनि गरेका छन्। उनले भने, “यो भ्रष्टाचार जुन छ, जसरी पैसा खर्च गरेर भोट किनेर सत्तामा पुग्ने अनि त्यसपछि पालैपालो देशलाई लुट्ने। चाहे काँग्रेस भन्नुस्, एमाले भन्नुस्, माओवादी भन्नुस्। चाहे मधेसवादी दलहरु भन्नुस्। यो त पटक पटक तपाईंहरले देख्नुभएको छ। हामी त्यो दुष्चक्र रोक्न चाहन्छौँ। भ्रष्टाचार अन्त्य गर्न अधिकार सम्पन्न आयोग बनाउँछौँ। त्यसले सबै भ्रष्टाचारीहरुको छानविन गरेर यिनलाई कठघरामा उभ्याउँछौँ। कसैलाई भ्रष्टाचार गर्न दिँदैनौँ।”  

आर्थिक विकास र सुशासनमा केन्द्रीत गर्दै २० वर्षभित्र देशलाई गरिबीबाट मुक्त गर्ने योजना आफ्नो दलसँग भएको दाबी पनि गरेका छन्। संघीयताका अपूर्णतालाई समाधान गर्नका लागि उनले प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने र केन्द्र र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी र समानुपातिक संसद्को मोडल अपनाउने योजना जनाए।  

प्रकाशित: ६ पुस २०८१ १३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App