द्वन्द्वपीडित समुदायले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न गठित समिति भंग हुँदा न्याय पाउने अपेक्षामा तुषारापात भएको बताएको छ ।
शुक्रबार २८ वटा द्वन्द्वपीडित संस्थाहरूले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
'अकस्मात् सिफारिस प्रक्रिया नै अवरुद्ध भएको घटनाबाट पीडित समुदायको न्यायको विश्वास र अपेक्षामाथि तुषारापात भएको छ, आयोग गठन प्रक्रिया थप गिजोलिएको छ, झन् अन्योल छाएको छ,' विज्ञप्तिमा भनिएको छ ।
उनीहरूले यथाशक्य स्वायत्त प्रकारको नयाँ समिति बनाउन मागसमेत गरेका छन् । 'तत्काल विश्वसनीय र स्वायत्त नयाँ सिफारिस समिति गठन गर्न र समितिको स्वायत्तता सुनिश्चित गर्न जोडदार माग गर्दछौँ,' त्यहाँ भनिएको छ ।
प्रकाशित: ५ पुस २०८१ १४:५५ शुक्रबार