सरकारले कूटनीतिक संयन्त्रमार्फत चिनियाँ धर्मगुरु पन्चेन लामा अर्थात् ग्यात्सेन नोर्बुको नेपाल भ्रमण रोकेपछि उनलाई नेपाल ल्याउन खोज्ने को हुन् भन्ने चासो बढेको छ। योसँगै उनलाई धार्मिक सद्भाव भ्रमणका रूपमा नेपाल ल्याएर बौद्धमार्गी नेताको रूपमा स्थापित गर्न खोज्नेहरूको खोजी भइरहेको छ।
सरकारी संयन्त्रहरूले यो विषयमा बढी नै चासो राखिरहेका छन्। सरकारी संयन्त्रहरूले उनी आफैं आउन चाहेका हुन् वा कसैले ल्याउन खोजेको हो भन्नेबारेमा चासो राखेका हुन्। ‘यो अत्यन्तै गम्भीर विषय हो। नेपालमा पन्चेन लामाको भ्रमण गराउन खोज्ने र राज्यका हरेक संयन्त्रलाई गुमराहमा राख्न खोज्ने पक्ष को हो, पहिचान गर्न जरुरी छ’, गृह मन्त्रालयका एक उच्च अधिकारीले भने।
काठमाडौंस्थित याक एन्ड यति होटलमा शुक्रबारदेखि सुरु हुने ‘नानहाई बुद्धिजम राउन्ड टेबल’ कार्यक्रममा चीनका धर्मगुरु पन्चेन पनि आउने समाचार बाहिर आएपछि सरकारले कूटनीतिक संयन्त्रमार्फत उनको भ्रमण रोकेको हो।
तीन दिनसम्म चल्ने नानहाई बुद्धिजम राउन्ड टेबलमा कम्तीमा २० देशका बौद्ध भिक्षु उपस्थित हुने बताइएको छ। कार्यक्रमका लागि भिक्षुहरू नेपाल आउने क्रम जारी छ। तर नेपाल सरकारका तर्फबाट यो विषयमा कुनै आधिकारिक धारणा बाहिर आएको छैन।
सरकारी संयन्त्रले पन्चेन काठमाडौं आउने सूचना मंसिर १८ गते नै पाएको थियो। तर यो विषय यकिन गरी भ्रमण रोक्न सरकारी संयन्त्रलाई झन्डै एक साता लाग्यो। यकिन गर्न गृह मन्त्रालय, राष्ट्रिय अनुसन्धान विभाग र अन्य सरकारी निकाय लागेका थिए। पन्चेन चीनको छेन्दुबाट शुक्रबार काठमाडौं आउने सूचना बाहिर आएपछि बुधबार नै सरकारले नेपालको भूराजनीतिलाई ध्यान दिएर उनको भ्रमण रोकेको हो।
गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले पन्चेनको भ्रमणबारे मन्त्रालयलाई कुनै पनि जानकारी नभएको बताए। ‘गृह मन्त्रालयलाई यो विषय जानकारी छैन’, उनले भने।
गृहसचिव दुवाडी र पर्यटन मन्त्रालयका सचिव गणेश पाण्डेबीच बुधबार यस विषयमा छलफल भएको थियो। त्यसपछि उनी नेपाल आउने नआउनेबारे परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ दूतावासलाई यकिन गर्न भनियो। दूतावासले उनी नआउने जानकारी गरायो। उनी अर्कै नाममा आउने सूचना पनि सरकारले पाएकाले सुरक्षा संयन्त्रलाई उच्च सावधानीमा राखिएको छ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा उच्चस्तरीय तहबट नै पन्चेनको भ्रमण स्थगित गरिएको आफ्नो जानकारीमा आएको बताएर पन्छिएका छन्। त्यो उच्चस्तरीय तह भनेको कुन हो भने उनले खुलाएनन्। ‘यो उच्च तहको विषय हो’, ल्हारक्यालले भने।
पन्चेन आउने समाचार बाहिर आएपछि यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेका थिए। प्रधानमन्त्रीले चासो राखेकै कारण यो विषयमा ल्हारक्याल पन्छिएको बुझिएको छ। उनले सरकारी संयन्त्रलाई दोष दिएर अन्तिम समयमा पन्चेनको भ्रमण रोकिएको भन्दै सञ्चारसम्पर्क विच्छेद गरेका थिए।
स्रोतका अनुसार पन्चेन लामाको नेपाल भ्रमणको चाँजोपाँचो ल्हारक्यालले मिलाएका थिए। नेपालमा भूराजनीतिको ठुलै प्रभाव परेका कारण पन्चेनको भ्रमण रोकिएको हुन सक्ने बताइएको छ।
भारत र अमेरिकाले यो विषयमा नजिकबाट चासो राखेका कारण पनि नेपाल सरकारले उनलाई यहाँ आउन रोक लगाएको आशंका गरिएको छ। नेपाल सरकारको संयन्त्रलाई दिइएको एउटा सूचनामा पन्चेन आउने र यात्रु नम्बरसमेत थियो। नानहाई बुद्धिजम राउन्ड टेबलमा सहभागी हुन चीन सरकारले तयार पारेका धर्मगुरु पन्चेन लामा आउने भएपछि सुरक्षासहित कार्यक्रमको तयारी थालिएको थियो।
भारत निर्वासनमा रहेका १४औं दलाई लामाले उत्तराधिकारी घोषणा नगरेका तर चीन सरकारले नियुक्त गरेका धर्मगुरु पन्चेन नेपाल आउने भन्दै उनको सुरक्षा प्रबन्धसहित कार्यक्रमको तयारी थालिएको थियो।
नानहाई बुद्धिजम राउन्ड टेबेलमा सहभागी हुन थाई एअरवेजको टिजी३१९ उडानबाट मंगलबार चीनका बौद्ध धर्मगुरु तथा बुद्धिस्ट एसोसिएसन अफ चाइनाका उपाध्यक्ष यिन सुनको नेतृत्वमा १० सदस्यीय भ्रमणदल नेपाल आइसकेको छ। भ्रमण दलमा सिउ जियावेन, सुन जिङहाओ, लिउ गुओसिनलगायत छन्। उनीहरूलाई नेपालका लागि चिनियाँ राजदूत छन् सोङले स्वागत गरेका थिए।
विश्वभर सम्मानित ८९ वर्षीय दलाई लामाले आफ्नो पुनर्जन्मको अधिकार आफूमा निहित राखेका छन्। तर चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी) ले दलाई लामाको उत्ताराधिकारीका रूपमा पन्चेन लामालाई अघि बढाइरहेको छ। परम्परागत तिब्बती बौद्ध परम्परामा ग्यात्सेन नोर्बुलाई पन्चेन लामाका रूपमा प्रयोग गरेर दलाई लामालाई निस्तेज गर्ने चीनको प्रयास रहेको आरोप अमेरिकालगायत मुलुकले लगाउँदै आएका छन्। नोर्बुलाई सिसिपीले धर्मगुरु नियुक्त गरेको हो।
प्रकाशित: २८ मंसिर २०८१ ०७:१३ शुक्रबार





