हुम्लामा आइतबार रातिदेखि सोमबार दिउँसोसम्म निरन्तर हिमपात भएपछि अवरुद्ध सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएर मंगलबार हवाई सेवा सञ्चालनमा आएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी मिलेर हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको नागरिक उड्डयन प्राधिकरण हुम्लाका प्रमुख महेन्द्र सिंहले जानकारी दिए।
‘मौसम सफा भएपछि आज बिहानैदेखि विमानस्थल सञ्चालनमा आएको हो। विमानस्थलको पार्किङस्थलमा हिउँ जमेको थियो। त्यहाँको हिउँ आफै पग्लियो, रनवेमा जमेको हिउँ सुरक्षाकर्मीको सहयोगमा पन्छाइएको हो।’ उनले भने।
जिल्लामा हिमपात हुँदा सोमबार एक दिन हवाई सेवा अवरुद्ध भएको थियो। सेवा सञ्चालनमा आएपछि नेपालगन्जबाट सीता र तारा एयरले एक एक उडान गरेका हुन् भने सीता एयरले नेपालगन्ज र सुर्खेत एक–एक गरी दुई फ्लाइट उडान गरेको सीता सिमकोट स्टेसनका सूर्य लामाले जानकारी दिए।
हुम्लामा सीता, समिट, तारा एयर र सरकारी स्वामित्वमा रहेको एयरलाइन्सले नेपालगन्जदेखि उडान भर्दै आएका छन्।
प्रकाशित: २५ मंसिर २०८१ १९:३६ मंगलबार