८ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

दाहाल लक्षित गृहमन्त्रीको अभिव्यक्ति- अनुसन्धान प्रभावित पार्नेगरी बोल्नु उचित होइन

गृहमन्त्री रमेश लेखकले अनुसन्धानलाई प्रभावित पार्नेगरी बोल्नु उचित नहुने बताएका छन् । मङ्गलबार सुर्खेत पुगेका गृहमन्त्री लेखकले पत्रकारहरूसँगको संवादका क्रममा यस्तो बताएका हुन् ।

‘अदालतलाई र अनुसन्धानलाई प्रभावित गर्ने र न्यायिक प्रक्रिया प्रभावित गर्ने गरी बोल्नु बेठिक हो। प्रमुख प्रतिपक्षी दलका नेताले यस्तो काम गर्नु झन् दुर्भाग्यपूर्ण हो,’ गृहमन्त्री लेखकले भने।

उनले कसैको मानव अधिकारको हनन नभएको जिकिरसमेत गरेका छन् । ‘सरकारी वकिलको कार्यालय घेर्ने, अदालत घेर्ने यो कुराहरू बेठिक हो । त्यसकारण कसैको मानव अधिकार हनन् भएको छैन,' उनले भने ।

यसअघि गत मंसिर १९ गते रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसहित धेरै नेताहरूले त्यसले लामिछानेको मानव अधिकारको हनन भएको बताएका थिए ।

गृहमन्त्री लेखककै दल नेपाली कांग्रेसका नेताहरूले समेत यही बताएका छन् । शेखर कोइराला, कृष्णप्रसाद सिटौला, अर्जुनरसिंह केसीलगायतका नेताहरूले लामिछानेलाई उनको इच्छाविपरीत यात्रा गराइनु ठीक नभएको बताएका छन् ।

तर, गृहमन्त्री लेखकले भने कसैको मानव अधिकारको हनन नभएको बताएका छन् ।

प्रकाशित: २५ मंसिर २०८१ १४:४१ मंगलबार

#rameshlekhak