नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रमा जनताले देखिने गरी काम भएको बताएका छन्।
तुलसीपुर उपमहानगरपालिका–१९ को प्रशासनिक भवनको उद्घाटन गर्दै उनले विगतभन्दा पछिल्लो समय धेरै उपलब्धि प्राप्त भएको बताएका हुन्।
महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण विकासमा केही समस्या भए पनि केही भएन भन्दै जनतामा निराशा र समाजमा अराजकता फैलाउनु गलत भएको बताए।
उनले सडक, बाटोघाटो, शिक्षा, स्वास्थ्य र अत्यावश्यक पूर्वाधार विकासमा उल्लेख्य प्रगति भएको भन्दै नकारात्मकभन्दा सकारात्मक कुरामा ध्यान दिन सबैलाई आग्रह गरे।
तुलसीपुर उपपमहानगरपालिकाले विकासमा फड्को मारेको उल्लेख गर्दै महासचिव पोखरेलले १९ वटै वडा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आउनु ठूलो उपलब्धि भएको धारणा राखे।
तुलसीपुर उपमहानगर प्रमुख टीकाराम खड्काले पालिकाका १९ वटै वडाले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको जानकारी दिए। उनले यसै महिनामा कृषि, पशु शाखा, वडा र स्वास्थ्य शाखाले आफ्नै भवनबाट सेवा सुरु गरेको भन्दै वडाको प्रशासनिक कार्यालयसम्म आउने सडकलाई कालोपत्र गर्ने काम छिट्टै सुरुवात गरिने जनाए।
प्रकाशित: २२ मंसिर २०८१ १९:२७ शनिबार