१२ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दुई अर्ब खर्चिएको दमकको भ्यु टावर ओलीले उद्घाटन गर्दै

झापाको दमकमा झन्डै दुई अर्ब खर्चिएर बनाइएको १८ तले बिजनेस टावरको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गर्ने भएका छन् । मुलुक कोरोना महामारीमै रहेका बेला ओलीकै योजनामा दमक नगरपालिका–३, दापगाछीमा २ अर्ब रुपैयाँको लागतमा निर्माण सुरु भएको यो टावरबारे अत्यधिक चर्चा पनि भएको थियो ।

ओलीले पाँच वर्षअघि यो टावरको शिलान्यास गरेका थिए । उक्त टावर चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा निर्माण गरेका हुन्। 

यो टावरको निर्माण कार्य एक वर्षअघि सकिएको हो । निर्माण सकिएको करिब एक वर्षपछि झापाको दमकस्थित भ्युटवार सञ्चालनमा आउन लागेको छ। प्रधानमन्त्री ओलीले आइतबार भ्युटवारको विधिवत् उद्घाटन गरेपछि व्यावसायिक रूपमा भ्युटवार सञ्चालनमा आउने सहरी विकास मन्त्रालय मातहत सघन सहरी तथा भवन निर्माण आयोजना झापाका आयोजना प्रमुख रमेश थिंगले बताए। उनका अनुसार उद्घाटन कार्यक्रममा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह पनि सहभागी हुनेछन्।

कार्यक्रमको आयोजना सहरी विकास मन्त्रालयले गर्ने भएको छ। उद्घाटन कार्यक्रममा मन्त्रालयका सचिव गोपाल सिग्देललगायत उच्च कर्मचारीहरू जाने भएका छन्। मन्त्रालयका सचिवको अध्यक्षतामा गठन हुने विकास समितिबाट भ्युटावरको सञ्चालन गरिनेछ। कार्यकारी निर्देशक नियुक्ति नभएसम्मका लागि मन्त्रालयले सहसचिवसरहका एक जना कर्मचारीलाई भ्यु टावर सञ्चालन तथा व्यवस्थापनका लागि जिम्मेवारी दिन सक्ने व्यवस्था गरिएको छ।

विकास समिति गठन आदेशमा एउटै विकास समितिबाट धरहरा, भ्यु टावर, सनराइज सभा हलसहित ६ वटा महत्वपूर्ण संरचना सञ्चालन तथा व्यवस्थापन गरिनेछ। यी संरचनाको सञ्चालन तथा व्यवस्थापन गर्ने क्रममा आवश्यक देखिएका विकास समितिले टेन्डर खोलेर निजी क्षेत्रलाई निश्चित समयका लागि लिजमा दिन सक्ने व्यवस्था गठन आदेशमा गरिएको छ।  

ठेकेदार कम्पनीले गत २०८० पुसमै मन्त्रालय मातहत सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय झापालाई भ्यु टावर हस्तान्तरण गरेको थियो। तर लामो समयसम्म भ्यु टावर सञ्चालनमा आएको थिएन।

 भ्यु टावर दमक बजारबाट करिब ६ किलोमिटर पश्चिममा छ। त्यसैले यसको व्यवस्थापन र सञ्चालन गर्न खर्चिलो हुने अनुमान गरिएको छ। बजारभन्दा करिब ६ किलोमिटर टाढा भएकाले तत्काल त्यहाँ सपिङ मल, जिम हल, हस्पिटल, ब्युटी पार्लर राख्दा नाफामा जाने सम्भावना कम छ।

दमक भ्यु टावर दमक नगरपालिकाका–३ मा करिब पाँच बिघा जग्गामा फैलिएको छ। २०७६ असार २७ गते एक अर्ब ५६ करोड १४ लाख ३९ हजारमा २०७८ असार २७ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो।

तोकिएको समयमा काम सम्पन्न नभएपछि २०८० असार २७ गतेसम्म म्याद थप गरिएको थियो। त्यसपछि पनि काम सम्पन्न नभएपछि तेस्रो पटक म्याद थप गरियो। दोस्रो पटक म्याद थप गर्दा १० करोड २७ लाख ८१ हजार रुपैयाँ थप खर्च भई संशोधित सम्झौता एक अर्ब ६६ करोड ४२ लाख २० हजार रुपैयाँ पुगेको थियो।

प्रकाशित: २२ मंसिर २०८१ १८:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App