तिलागुफा नगरपालिका–४ का नवनिर्वाचित वडाध्यक्ष खड्गराज शाहीलाई तिलागुफा नगरपालिका मेयर शंकरप्रसाद उपाध्यायले शपथ ग्रहण गराएका छन्।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट निर्वाचित भएका शाहीलाई तिलागुफा नगरपालिकाको कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमकाबीच शपथ ग्रहण गराइएका हुन्।
तिलागुफा नगरपालिका –४ बाट निर्वाचित माओवादी केन्द्रका वडाध्यक्ष परबहादुर शाही लगायतका १३ जनाको २०७९ मा निधनपछि यस वडामा उपनिर्वाचन भएको हो।
मेयर शंकरप्रसाद उपाध्यायले शपथ पछि वडाअध्यक्ष खड्गराज शाहीलाई स्वागत समेत गरे। संविधान भन्दा बाहिर गएर जनप्रतिनिधिले कर्मचारीलाई दबाब दिएको खण्डमा आफूलाई भन्न उनले आग्रह गरे।
उनले अबको ढाई वर्षको अवधिमा धेरै बिकास निर्माणका कार्य गर्न बाकी रहेको बताउँदै, अब हुने नीतिगत निर्णय, लगायतका विभिन्न विषयमा सम्पूर्ण कर्मचारीले सहयोग गर्नुपर्ने बताए।
देश र जनताको नाममा खाएको शपथ अनुसार आफ्नो कामकारबाही जिम्मेवारीका साथ कर्तव्यनिष्ठ भई पालना गर्ने वडाध्यक्ष खड्गराज शाहीले प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित: १९ मंसिर २०८१ १४:४६ बुधबार