२० मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

ऊर्जामन्त्रीले किन बनाए विद्युत् प्राधिकरणमा कार्यकक्ष ?

'हाम्रो अभिभावक हाम्रै घरमा आउनुभयो'

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणको कार्यालयमा आफ्नो कार्यकक्ष बनाएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ माथिल्लो तामाकोशीको पुनर्निर्माण स्थल पुगेको बेला मन्त्री खड्का कार्यकक्ष खडा गरी प्रवेश गरेका हुन् । 

मन्त्री खड्का बुधबार नयाँ कार्यकक्ष प्रवेश गरेका छन् । उनलाई कर्मचारीहरूले फूलका गुच्छा तथा खादा दिएर स्वागत गरेका छन् ।

त्यसो त प्राधिकरणको अध्यक्ष ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री हुने व्यवस्था छ । यसर्थ, मन्त्री खड्का प्राधिकरणका अध्यक्ष पनि हुन् । तर, मन्त्री खड्का त्यतिबेला नयाँ कार्यकक्ष बनाएर प्रवेश गरेका छन्, जतिबेला उनी र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच टसल परिरहेको छ ।

मन्त्री खड्का र कार्यकारी निर्देशक घिसिङबीच डेडिकेटेड तथा ट्रङ्कलाइन विषयमा विवाद छ । यसअघि मन्त्रिपरिषद्ले १५ दिनभित्र विद्युत् बक्यौता उठाउन निर्णय गरे पनि व्यवसायीले तिरेनन् । त्यसयता लाइन नकाट्न विद्युत् नियमन आयोगले निर्देशन दिएको छ । हाल प्राधिकरणले काटेको बिल टीडीएअनुसार भए वा नभएको अध्ययन गर्न मन्त्रालयले समिति बनाएको छ ।

मन्त्री खड्का र निर्देशक घिसिङबीच चिसिएको सम्बन्ध भने त्यस्तै छ । ठीक यही बेला मन्त्री खड्का कार्यालय खडा गरी प्राधिकरणमै बस्न थालेका हुन् ।

यसअघि त्यहाँ प्राधिकरण अध्यक्ष अर्थात् ऊर्जामन्त्रीको कार्यकक्ष बनाइएको थिएन । तर, मन्त्री खड्काले कार्यालय बनाउन निर्देशन दिएर आज प्रवेश गरेका हुन्, त्यही पनि निर्देशक घिसिङ नभएका बेला !

यसपछि कतिपयले मन्त्री खड्काले निर्देशक घिसिङलाई दबाबमा राख्ने गरी त्यहीँ कार्यालय बनाएको 'न्यारेभिब' बनाएका छन् । तर, त्यसो नभएको जवाफ प्राधिकरणको छ । प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोशले नागरिकसँग भने, 'त्यसो केही होइन । मन्त्रीज्यू प्राधिकरणको अध्यक्ष पनि हो । उहाँले मन्त्रीका रूपमा भन्दा पनि अध्यक्षका रूपमा यहाँ कार्यकक्ष बनाउनुभएको हो । यो सचिवालयको हल हो ।'

अगाडि प्रवक्ता घोश भन्छन्, 'हामी त खुसी छौँ, हाम्रो अभिभावक हाम्रै घरमा आउनुभएको छ ।'

उसो त सिंहदरबारमा ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय छ । मन्त्रीको कार्यकक्ष मन्त्रालय नै हो । तर, मन्त्री खड्काले प्राधिकरणमा पनि कार्यकक्ष बनाउँदा धेरैलाई अलमल परेको छ । 

प्राधिकरण अध्यक्ष अर्थात् ऊर्जामन्त्रीको कार्यकक्ष त्यहाँ हुनु आश्चर्यजनक त छ नै कार्यकारी घिसिङसँग सम्बन्ध चिसिएको बेलामा गरिएको कामका कारण धेरैलाई अन्योल परेको हो ।

प्रकाशित: १९ मंसिर २०८१ १४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App