१७ मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस नेता आनन्द ढुंगानाको गृह वडामा माओवादीका उम्मेदवार निर्वाचित

नेपाली काँगेसका केन्द्रिय सदस्य तथा राष्ट्रियसभा सांसद आनन्द प्रसाद ढुंगानाको गृह वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । धनुषाको धनुषाधाम नगरपालिका–१ मा वडाध्यक्षका लागि भएको उप–निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार २८ वर्षीय सुनिल कापर केवट निर्वाचित भएका हुन्।

माओवादीका कापरले ६ सय ८४ मत ल्याएर निर्वाचित हुँदा उनको निकट प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार ३२ वर्षीय अशोक कुमार ६ सय २ मत प्राप्त गरेका छन् । त्यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालका २९ वर्षीय उम्मेदवार अजय कुमार यादव ४ सय ९९ मत ल्याएर तेस्रो भए । नेकपा एमालेका उम्मेदवार ४९४ मतसहित चौथों स्थानमा झरे।

२०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांगे्रसबाट दोस्रोपट वडाध्यक्षमा निर्वाचित वडाध्यक्ष विश्वनाथ यादवको निधन भएपछि यहाँ उप–निर्वाचन भएको छ। अघिल्लो निर्वाचनमा तेस्रो स्थानमा रहेका माओवादीका कापर उप–निर्वाचनमा जित हात पार्न सफल हुँदा दोस्रो भएका एमालेका यादव यसपटक चौथों स्थानमा पुगेको छ।  

धनुषाधाम नगरपालिका–१ मा कांग्रेसका पुराना नेता ढुंगाना र यस नगरपालिकाको मेयरमा दोस्रोपटक निर्वाचित बालेश्वर मण्डलको गृहवडा भएकाले कांग्रेसका उम्मेदवारलाई जिताएर आफ्नो विरासत जोगाउनुपर्ने दवाब थियो । तर अघिल्लो दुटै स्थानीय निर्वाचनमा प्रतिद्धन्द्धी भन्दा दोब्बर मत ल्याएर वडामा जित्न सफल भएका कांग्रेसलाई उप–निर्वाचनमा हार व्यहोर्नुपरेको छ ।  

मेयर मण्डलले उप–निर्वाचनमा आफ्नो भतिजा अशोकलाई उम्मेदवार बनाएको थियो । मेयर मण्डलले भतिजालाई उम्मेदवार बनाएर परिवारवादको राजनीति गर्न खोजेको कारण उनलाई जनताले अस्विकार गरेको स्थानीय एक कांग्रेस नेताको बुझाइ छ ।  

‘कांग्रेसबाटै मेयर मण्डल दोस्रोपटक निर्वाचित भएका हुन् । अब आउने चुनावमा कानुन अनुसार उनी मेयर उठन पाउँदैनन्, ती नेताले भने, ‘भतिजोलाई वडाबाट नगरपालिका प्रवेश गराएर आउने निर्वाचनमा मेयरमा उठाउने जनतामा संदेश गएको कारण उनको योजनामा जनताले ब्रेक लगाएको छ ।’

धनुषाधाम नगरपालिका प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा पर्छ।यहाँ कांग्रेसका ढुंगाना, नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादव र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट प्रतिनिधिसभामा निर्वाचित दिपक कार्कीले आ–आफ्नो उम्मेदवारलाई जिताउन सकृय भएका थिए।

२०७४ सालको मत यस्तो थियो  

७४ साल स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ यादव ७०० मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेका उम्मेदवार ३७४ मत प्राप्त गरेका थिए । त्यस्तै माओवादी केन्द्रका गौरी शंकर यादवले १८० मत ल्याएर तेस्रो स्थानमा रहको थियो । तत्काली संघीय समाजवादी फोरम नेपालका उम्मेदवार देवनरायण यादव १९२ मत पाएका थिए।  

प्रकाशित: १७ मंसिर २०८१ ०७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App