१२ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लुम्बिनीको विकास र संरक्षणमा सरकार गम्भीर छ: प्रधानमन्त्री

<br>

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका सम्पूर्ण बुद्धधर्मावलम्बी र शान्तिप्रेमी मानिसको आस्थाको केन्द्र रहेको लुम्बिनीको विकास र संरक्षणमा सरकार गम्भीर रहेको बताएका छन्।

लुम्बिनी विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त तथा २०औं वार्षिकोत्सव समारोहलाई शुक्रबार लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं कुलपति ओलीले लुम्बिनी बुद्धको जन्मस्थल मात्रै नभएर बुद्धिजमको मुहानसमेत भएकाले विश्वमाझ यसको प्रचारप्रसार गर्दै पावन भूमिको रूपमा विकास गर्ने काममा सरकार लागिपरेको बताएका हुन्।

‘लुम्बिनी बुद्धको जन्मस्थल मात्रै होइन, बुद्धिजमको मुहान हो, जहाँ विश्वका बौद्धधमावलम्बीको, शान्तिप्रेमी मानिसको आस्था छ, यस्तो महत्त्वपूर्ण ठाउँको संरक्षण गर्ने, पावनभूमिको रूपमा विकास गर्ने र प्रचारप्रसार गर्ने काम हाम्रो हो त्यस कुरामा हामी लागेका छौं,’ प्रम ओलीले भने।

मानव जातीको कल्याण, शान्ति, समानता, विकास र समृद्धिबाट हुने भन्दै उनले आम नेपाली जनताको समृद्ध जीवनका लागि ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा अनुरूप सरकार अगाडि बढेको बताए।

‘बुद्धदर्शनको सार अनुरूप नै हामी भविष्य उन्मुख ढंगले समृद्ध नेपाल सुखी नेपालीतर्फ अगाडि बढेका छौं, विश्वमा शान्ति र समृद्धितर्फ, समानतातर्फ अगाडि बढेका छौं र करुणामय मानवीय भावमय विश्व बनोस् भन्ने कुरामा लागेका छौं,’ प्रधानमन्त्री ओलीले भने।

ढाँट, छलकपट र प्रपञ्च मानवीय गुण नभएको भन्दै उनले बुद्ध दर्शनको अनुसरण गर्दै शान्ति, प्रेम, करुणाको मार्गमा अगाडि बढ्न आग्रह पनि गरे। जहाँ बुद्धको चर्चा हुन्छ, त्यहाँ ध्यान र प्रवचन हुनैपर्ने भन्दै उनले ध्यान, प्रवचन र बुद्धिजमलाई सँगसँगै आगाडि बढाउनुपर्नेमा जोड दिए।

प्रम ओलीले यसअघि आफू प्रधानमन्त्री हुँदा लुम्बिनीमा पाँच हजार अट्ने सभाहल बनाउने निर्णय गरेको र सोहीअनुरूप सभाहल तयार भएको स्मरण गरे। केन्जो टाँगेले तयार गरेको लुम्बिनी गुरुयोजना विपरीत बनेको ५ हजार अट्ने सभाहल निर्माण गर्ने आफ्नो निर्णय र निर्देशनको बचाउ गर्दै उनले सभाहल ठिक लोकेसनमा बनाइएको र लुम्बिनीका कुनै पनि गतिविधिलाई सभाहलले असर नगर्ने बताए।

बुद्धका विचार अन्धविश्वासमा आधारित नभई सत्य, तथ्य र प्रमाणमा आधारित रहेको उल्लेख गर्दै उनले सत्यको खोज अनुसन्धान र अन्वेशषणबाटै मानव जातिको विकास र समृद्धि सम्भव रहेको बताए। विश्वविद्यालयका उपकुलपतिसमेत रहेका प्रम ओलीले दीक्षित विद्यार्थीलाई बधाई दिँदै बुद्धशिक्षा तथा दर्शनलाई प्रचारक तथा अनुयायी भएर समाजलाई सुसूचित गर्न आग्रह गरे।

कार्यक्रममा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बौद्ध विश्वविद्यालयले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताइन्। बौद्धशिक्षा तथा दर्शनसँगै सक्षमतामा आधारित पठ्यक्रम लागु गर्नुपर्ने, महायान तथा पाली भाषा तथा गुम्बा शिक्षाको अध्ययनतर्फ पनि ध्यान दिनुपर्ने बताइन्।

विश्वविद्यालयले आफ्नो २०औं स्थापना दिवसको अवसर पारेर शुक्रबार विशेष दीक्षान्त समारोह गरेको हो। समारोहमा विद्यावारिधि, स्नातकोत्तर र स्नातकका गरी २ सय ८९ विद्यार्थीलाई दीक्षित गरिएको थियो।

सोही अवसरमा बौद्ध शिक्षा, दर्शन, धर्मको विकास र प्रवद्र्धनमा विशिष्ट योगदान पु¥याएको भन्दै भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य)लाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको थियो। भिक्षुणी धम्मावतीले १२ बर्षको उमेर देख बुद्ध दर्शनमा लागेको बताउँदै मानार्थ विद्यावारिधिको उपाधी दिएकामा विश्वविद्यालय परिवारलाई धन्यवाद दिइन्।

स्नातक र स्नातकोत्तर तहका सबै संकायबाट १५ जना विद्यार्थीलाई विश्वविद्यालय स्वर्ण पदकबाट सम्मानित गरिएको थियो। विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्राचार्यले विश्वविद्यालयले भौतिक पूर्वाधार निर्माणसँगै शैक्षिक कार्यक्रम विस्तारमा विशेष जोड दिएको बताए।

विश्वविद्यालयका रजिस्टार तिलक आचार्यले स्थापना दिवसकै अवसर पारेर ‘शान्ति निर्माण र दिगो विकासका लागि गौतमबुद्धको शिक्षा अन्वेषण’ विषयक अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गरीएको जानकारी दिए ।

प्रकाशित: १५ मंसिर २०८१ १०:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App