प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको भ्रमण गर्नुअघि बीआरआईमाथि अनेकन् कोणबाट छलफल र बहस भइरहेका छन् ।
यसले सत्तारूढ गठबन्धभित्र पनि ‘स्पेस’ पाएको छ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस बीआरआई अनुदानका रूपमा भए मात्रै लिने अडानमा छ भने प्रधानमन्त्री ओलीको दल नेकपा (एमाले) भित्र भने मिश्रित धारणाहरू देखिन्छन् ।
कतिपयले त के पनि भन्न थालेका छन् भने बीआरआईकै कारण सत्तारूढ गठबन्धनमा समस्या आउँदैछ । तर, सत्तासीन नेताहरूले भने त्यसो नभएको दाबी गरेका छन् ।
यसकै पृष्ठभूमिमा पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतसँग यी नै विषयमा संक्षिप्त संवाद गरेका छौँ ।
बीआरआईमा नेपाली कांग्रेसको आधिकारिक धारणा के हो ?
हामीले भन्दै आएका छौँ, जे भनेका छौँ त्यही हो ।
तपाईंहरूले अनुदान हुनुपर्यो भन्दै आउनुभएको छ, पार्टीको आधिकारिक धारणा पनि यही हो ?
चीनसँगको मैत्रीपूर्ण सम्बन्ध छँदैछ, यसलाई यथावत् राखेर बीआरआईमा चाहिँ अनुदान हुनुपर्यो, त्योचाहिँ अनुदानमा रूपान्तरण गर्नुपर्यो भन्ने कांग्रेसको आधिकारिक र संस्थागत धारणा हो । यो हामीले भन्दै आएका छौँ, सभापतिजीले पनि यही भन्नुभएको छ र हामी अरु नेताहरूले पनि यसैमा जोड गरेका छौँ र हाम्रो प्रष्ट धारणा यही हो ।
तर, प्रधानमन्त्री र उहाँको दल यसमा प्रष्ट देखिनुहुन्न नि ?
उहाँलाई पनि हामीले यही सम्झाएका छौँ । उहाँले ऋण थुपार्ने काममा लाग्नु हुँदैन भनेर भन्नुभएको छ, भनाइको मतलब त्यही त हो नि । उहाँले पनि त्यो अनुदान भए ठीक छ, अन्यथा अगाडि बढ्नुहुँदैन भन्नुभएको छ ।
उहाँको दलभित्र मिश्रित प्रकारको धारणाहरू सुनिन्छन्, उहाँ त त्यहाँबाट पनि प्रेसराइज हुनुहोला नि ?
उहाँले स्पष्ट रूपमा के भन्नुभएको छ भने म यसलाई सम्झौतायोग्य बनाउँछु भन्नुभएको छ । भनेपछि उहाँले यसलाई ऋणका रूपमा होइन, अनुदानका रूपमा लिने भन्ने कुरा गर्नुभएको हो । यसमा हामीले स्पष्ट रूपमा पहिल्यै समझदारी गरिसकेका छौँ ।
कांग्रेस-एमालेबीच गठबन्धन बनेको (असार १७ गते) नै भएको भनिएको समझदारी यही हो ?
हो हो ।
भनेको कांग्रेस-एमालेबीच बीआरआई अनुदान भए मात्रै लिने भन्ने समझदारी भएको हो होइन त ?
एकदमै हो । हाम्रो स्पष्ट धारणा पनि त्यही हो । यो गठबन्धनकै धारणा हो ।
भनेपछि प्रधानमन्त्री चीन जाँदै हुनुहुन्छ, त्यहाँ उहाँको प्रयास यही रहन्छ ?
हाम्रो सुझाव त्यही हो ।
कतिपयले बीआरआईले गठबन्धनमै समस्या पार्छ भनेर आकलन गर्न थालेका छन् नि ?
बाहिर के के भन्छन्, त्यसले मान्य राख्दैन । हामी सल्लाह, छलफल गर्दैछौँ । निष्कर्षमा पुग्छौँ । अझ बलियो धारणा बनाउँछौँ । गठबन्धनमा समस्या हुँदैन ।
भनेपछि बीआरआईलाई नै लिएर गठबन्धनमा कुनै समस्या छैन, हुँदैन ?
हुँदैन हुँदैन, समस्या हुँदैन ।
प्रकाशित: १० मंसिर २०८१ २१:४८ सोमबार