६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

हामी कुनै शक्तिविरुद्ध लड्न जाँदैनौं, तर अन्याय सहेर बस्दैनौं: प्रधानमन्त्री

.

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कुनै सैन्य गठबन्धनमा नरहने तर अन्यायको सामना चुपचाप बसेर नगर्ने स्पष्ट पारेका छन्।

बुधबार विभिन्न राजनीतिक दल र नागरिक संस्थाका प्रतिनिधिहरूले बालुवाटार पुगेर इजरायलले प्यालेस्टाइनमाथि गरिरहेको हमलाको विरोधमा सरकारलाई सक्रिय भूमिका खेल्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएपछि प्रधानमन्त्रीले यस्तो धारणा व्यक्त गरेका हुन्।

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले इजरायलले प्यालेस्टाइन र लेबनानमाथि गरिरहेको बलपूर्वक हमलाको विरुद्धमा नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउन माग गरेको थियो।

ज्ञापनपत्रमा नेपालको तटस्थ परराष्ट्र नीतिलाई न्याय र मानव अधिकारको पक्षमा स्पष्ट रूपमा प्रस्तुत गर्न र संयुक्त राष्ट्रसंघजस्ता मञ्चहरूमा सक्रिय भूमिका खेल्नुपर्ने उल्लेख गरिएको छ।

साथै, इजरायलको युद्ध क्षेत्रबाट नेपाली नागरिकहरूलाई सुरक्षासहित फिर्ता ल्याउने पहल गर्न र हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशीको उद्दारका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरिएको छ।

ध्यानाकर्षणपछि प्रधानमन्त्री ओलीले विश्व शान्ति, मानव अधिकार र न्यायका पक्षमा नेपाल अडिग रहेको बताए। उनले भने, ‘हामी कुनै शक्तिविरुद्ध आफै लड्न जाँदैनौं। कुनै पनि सैन्य गठबन्धनमा सामेल हुँदैनौं। तर अन्याय सहेर बस्दैनौं। निरीह शान्तिको पक्षमा होइन, न्यायपूर्ण शान्ति र मानव अधिकारको रक्षामा हाम्रो सरकार सधैं उभिन्छ।’

भेटघाटका क्रममा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल, नेकपा (एकीकृत समाजवादी) का सचिव शेरबहादुर कुँवर, क्रान्तिकारी कम्युनिष्ट पार्टीका वरिष्ठ नेता सिपी गजुरेल, जनता समाजवादी पार्टीका विदेश विभाग प्रमुख अर्जुन थापा, र प्रगतिशील रूपान्तरण आन्दोलनका अभियन्ता श्याम श्रेष्ठलगायत सहभागी थिए।

प्रधानमन्त्री ओलीले ध्यानाकर्षणमा उठाइएका सबै विषयहरू गम्भीरतापूर्वक लिई आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: ५ मंसिर २०८१ १५:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App