९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

शान्ति सम्झौताका १८ वर्ष: माओवादी अध्यक्ष दाहालले भिडिओ वक्तव्यमा के भने ?

सरकार र तत्कालीन विद्रोही नेकपा माओवादी बिच भएको विस्तृत शान्ति सम्झौताको बुधवार १८ वर्ष पुगेको छ । २०६२÷०६३ को जनआन्दोलनको सफलतासँगै ०६३ मङ्सिर ५ गते सरकार र तत्कालीन सशस्त्र विद्रोह गरिरहेको माओवादी बीच द्वन्द्व समाधानसहित उक्त सम्झौता भएको थियो । 

शान्ति सम्झौतामा राज्य पक्षका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही माओवादीका पक्षबाट अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेका थिए । 

त्यसयता मुलुकमा शान्ति स्थापना भए पनि राजनीतिक स्थिरता भने हुन सकेको छैन । यद्यपि यो बिचमा दुई पटक संविधान सभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, संविधान निर्माणलगायतका ठुला उपलब्धि भएका छन् । 

यस्तोमा शान्ति प्रक्रिया भने टुङ्गोमा पुग्न सकेको छैन । द्वन्द्वकालीन घटनाहरूको न्याय निरूपण र बेपत्ता पारिएका नागरिकको सत्य तथ्य विवरण परिवारले पाउन सकेका छैनन् । 

यस्तोमा वृहत् शान्ति सम्झौताका १८ वर्ष पुगेको अवसरमा शान्ति सम्झौताका एक पक्ष रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले बुधवार एक भिडिओ वक्तव्य दिएका छन् । सामाजिक सञ्जालमार्फत दिएको वक्तव्यमा उनले शान्ति सम्झौताबाटै नयाँ युग सुरु भएको भन्दै १८ वर्षअघिको दिन स्मरण गरेका छन् । 

‘आज मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिन । सात राजनीतिक दलको तर्फबाट तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा माओवादीको तर्फबाट मैले हस्ताक्षर गरेको दिन,’ दाहालले भनेका छन्,‘यो विस्तृत शान्ति सम्झौता नै नेपालमा संविधानसभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्रको आधारशिला हो । यहीँबाट नयाँ युगको सूत्रपात भएको मान्न सकिन्छ ।’

आजको दिन हामी सबैले स्मरण गर्नुपर्ने र सम्मान गर्नुपर्ने दिन रहेको दाहालले बताएका छन् । उनले अगाडि भनेका छन्, ‘म यो अवसरमा नेपालमा सङ्घीय गणतन्त्र स्थापना गर्नका निम्ति विभिन्न महान् जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत सबै न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण सहिदहरू प्रति उच्च श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । सम्पूर्ण बेपत्ता योद्धाहरूप्रति सम्मान प्रकट गर्दछु ।’ 

घाइते, अपाङ्गप्रति स्वास्थ्य लाभको कामना पनि गर्दै दाहालले अहिले शान्ति सम्झौताको मूलभूत स्पिरिट अनुसार शान्ति प्रक्रियाको बाँकी काम पनि टुङ्ग्याउने प्रक्रियामा रहेको बताएका छन् । ‘मलाई  खुसी छ कि मैले नेतृत्व गरेको सरकारकै समयमा सत्य निरूपण तथा बेपत्तासँग सम्बन्धित आयोगका लागि आवश्यक विधेयकको अन्तिम रूप  दिइएको थियो ।  आज त्यो निष्कर्षतिर जाँदै छ । हामी सबै यसमा खुसी छौँ । हाम्रो प्रतिबद्धता के हो भने शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याएर नेपाललाई शान्तिको एउटा नयाँ मोडेलको रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने विश्वास छ,’ दाहालले भनेका छन् । 

नेपाली जनताले संविधानसभाबाट संविधान बनिसकेपछि संघीय लोकतान्त्रिक गणतन्त्र मार्फत विकास र समृद्धिको जस्तो अपेक्षा गरेको हो, त्यो अनुसार हुन सकेन भन्ने असन्तुष्टि जनतामा रहेको दाहालले स्वीकार गरेका छन् । सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा एउटा नयाँ सङ्कल्पको साथ जरुरी पर्दा संविधानलाई अझ परिमार्जन गर्दै जानुपर्ने आवश्यकता रहेको पनि उनको भनाई छ । 

‘म यस अवसरमा शान्तिका निम्ति काम गर्ने सबै राजनीतिक दल, नागरिक समाज र आम जनताप्रति पनि हार्दिक आभार र धन्यवाद व्यक्त गर्दै जनअपेक्षा अनुसार सुशासन, विकास र समृद्धिको पक्षमा लाग्न सबैसँग अपिल गर्दछु,’ दाहालले भनेका छन् । 

प्रकाशित: ५ मंसिर २०८१ १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App