५ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

साइबर अपराधमा प्रसाईं पक्राउ

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सोमबार ‘हट केक’ विषयमा ‘विशेष पत्रकार’ सम्मेलन आयोजना गरेको भन्दै आफूलाई पछ्याउने केही युट्युबर र पत्रकारलाई आफ्नो निवासमा डाँके। 

त्यसपछि प्रसाईंले आफ्नै चिरपरिचित शैलीमा प्रस्तुति सुरु गरे। र, व्यवस्था तथा देशका पार्टीहरूमाथि खनिए। यही कारण एक वर्षअघि २०८० मंसिर ७ गते आफूले जनविद्रोह सुरु गरेको दाबी उनले गरे।‘त्यसको एक वर्ष हुँदै गर्दा तथ्यमा आधारित सत्य कुरा, कम्बोडियाको लगानीबारे एक वर्षअगाडि बोल्या थें कि खड्गप्रसाद ओली अहिलेका प्रधानमन्त्रीको लगानी कम्बोडियामा छ भनेर, भन्दाखेरी उहाँले सदनमा के भन्नुभएको थियो भने त्यहाँ मेरो लगानी छ भने त्यसमा पनि म थपेर जल्ले भनेको छ, त्यसलाई दिन्छु भन्नुभएको थियो,’ यसरी उनी प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जाइलागे।

त्यसपछि प्रसाईंले आफूले धेरै पहल गरेर कम्बोडियाको एक टेलिकम कम्पनीमा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको प्रमाण पाएको दाबी गरे। ‘२१ करोड युएस डलर, २१ लाख होइन,’ उनले भने, ‘३२ अर्ब रूपैयाँबराबरको खड्गप्रसाद ओलीज्यूको सेयर। त्यहाँ खड्गप्रसाद ओली लेख्या छ फेरि। प्रमाणित कागज, त्यो पनि गुगलमा गएर प्रमाणित गराएर। फेरि यो होइन मेरो भन्छ। मैले ल्याएर आएको छु। त्यो सार्वजनिक गर्दै छु।’ त्यो सार्वजनिक भएपछि आफूलाई पक्राउ गर्ने र झुटा मुद्दा लाग्नसक्ने दाबी पनि प्रसाईंले पत्रकार सम्मेलनमा बताएका थिए। पत्रकार सम्मेलनमा प्रसाईंले प्रोजेक्टरमार्फत एउटा तयारी सामग्री देखाए। जसमा कम्बोडियाको एजियटा कम्पनीमा ओलीको लगानी दाबी गर्ने खालका केही दस्तावेज देखिने डकुमेन्ट देखाइएको थियो। एजियटा त्यही कम्पनी होे, जो नेपालको एनसेलको मुख्य सेयरहोल्डर पनि छ। सन् २०१९ मा प्रधानमन्त्री ओली ‘कम्बोडिया बिजनेस’ फोरममा सहभागी हुँदा सेयर दस्तावेजमा उनैले हस्ताक्षर गरेको प्रसाईंले देखाएको सामग्रीमा दाबी गरिएको थियो।  

यो सामग्री आफूलाई भिडियो कलमार्फत कम्बोडियाबाट प्राप्त भएको प्रसाईंले दाबी गरेका थिए। त्यो जनाउन उनले केही भिडियो फुटेज पनि देखाएका थिए। यो प्रमाण ल्याउन आफूले करोडौं खर्च गरेको प्रसाईंले दाबी गरे। ‘यो प्रमाण जल्ले दियो नि त्यो मान्छेलाई समाइसके। त्यसलाई मार्दै छन्। यो प्रमाण ल्याउन मैले एक करोड साढे ११ लाख खर्च गरेको छु,’ प्रसाईंले भनेका थिए। यसबाहेक प्रसाईंले नेपालको एनसेलमा पनि ८० प्रतिशत लगानी एमाले र प्रधानमन्त्री ओलीको रहेको दाबी गरेका थिए। यसरी प्रसाईंले सार्वजनिक गरेका ती दस्तावेज युट्युब र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएका छन्। प्रसाईंका समर्थक र प्रधानमन्त्री ओलीका विरोधीहरू तिनै दस्ताबेज राखेर गालीबेइज्जतीमा उत्रिएका छन्।  

प्रसाईंले यसरी कम्बोडियामा प्रधानमन्त्री ओलीको लगानी भन्दै दस्तावेज सार्वजनिक गरेपछि बिहानैदेखि एमालेका नेताकार्यकर्ता प्रतिवादमा उत्रिएका थिए। एमालेका कार्यकर्ताले ती दस्ताबेज फर्जी रहेको बताइरहेका छन्।  

एमालेका महासचिव शंकर पोखरेलले फेसबुकमार्फत प्रसाईंविरुद्ध आक्रोश नै पोखेका छन्। ‘देशको प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिविरुद्ध नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताविरुद्धको षड्यन्त्र हो,’ पोखरेलले लेखेका छन्, ‘कुनै पनि समाजका लागि षड्यन्त्र र अराजकता त्यस समाजको भविष्यलाई बर्बाद बनाउने विषवृक्ष हो। यस प्रकारको षड्यन्त्र र अराजकताबाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो।’

सरकारको निर्देशनमा मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रसाईंलाई उनकै घरमा पुगेर पक्राउ गरेको छ। फर्जी दस्ताबेज बनाएर प्रधानमन्त्री ओलीको सार्वजनिक मानहानि गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको सिआइबीले जनाएको छ।  

‘सिधै आँखाले हेर्दा ती दस्ताबेज फर्जी देखिन्छन्। यसरी फर्जी दस्ताबेज तयार गरेर कसैको मानहानि गरेको देखिए प्रहरीले सिधै अनुसन्धानमा तान्न सक्छ,’ सिआइबीका एक अधिकारीले भने, ‘त्यसैले उहाँमाथि किर्ते र साइबर अपराधमा अनुसन्धान सुरु भएको छ।’  

साइबर अपराध ९विद्युतीय कारोबार ऐन, २०६३० अनुसार थप अनुसन्धान गर्न सिआइबीले प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोमा पठाएको छ। ‘उहाँमाथि आवश्यकताअनुसार प्रहरी निकायले अनुसन्धान गर्छ। अहिले साइबर अपराधमा अनुसन्धान सुरु भएको छ। किर्तेमा पनि हुनसक्छ,’ सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले भने। उनका अनुसार प्रसाईंसँगै सिआइबीले तीनवटा ल्यापटप र नौवटा मोबाइल पनि नियन्त्रणमा लिएको छ।  

प्रसाईंलाई पक्राउ गरेपछि प्रहरीले मंगलबार म्याद थपका लागि अदालतमा भने उपस्थित गराएन। विद्युतीय सामग्रीको खानतलासी गरी आवश्यक प्रमाण लिएर मात्रै अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ। प्रहरीले अनुमति नलिई पनि बुधबारसम्म हिरासतमा राख्न सक्छ।  

प्रहरीका अनुसार प्रसाईंमाथि अनुसन्धानसँगै उनीसँगै जोडिएका थप केही व्यक्ति पनि पक्राउ पर्नसक्ने अवस्था छ। प्रहरी स्रोत भन्छ, ‘उनी एक्लैले यी फर्जी सामग्री खडा गरेका होइनन्। यसमा अवश्य अरू पनि संलग्न छन्। अनुसन्धानमा खुलेसँगै अरू पनि पक्राउ पर्न सक्छन्।’

प्रहरीले प्रसाईंले सार्वजनिक गरेको भनिएका दस्तावेजहरू ठाडै आँखाले हेर्दा फर्जी रहेको दाबी गरेको छ। ‘ठाडै आँखाले फर्जी रहेको बुझिन्छ नि,’ एक उच्च प्रहरी अधिकारी भन्छन्, ‘नत्र प्रहरीले यति हतारमा पक्राउ नै गर्दैन नि।’  

प्रहरीले प्रसाईंले सार्वजनिक गरेका दस्तावेजमा प्रधानमन्त्री ओलीको नाम नै नमिलेको, देशको प्रधानमन्त्रीले आफ्नै नाममा विदेशमा लगानी गर्छ भन्ने कुरा नै युक्तिसंगत नदेखिएको, हस्ताक्षरमा पनि कैफियत देखिएको दाबी गरेको छ।  

प्रसाईंले दिएका अपुष्ट र भ्रमपूर्ण सामग्री प्रसारण गर्ने ६ युट्युब र एक फेसबुक पेजमाथि प्रेस काउन्सिल नेपालले कारबाही गरेको छ। दर्ता र सूचीकरणबिना चलेका ती च्यानलबारे थप अनुसन्धानका लागि साइबर ब्युरोलाई पत्राचार गरिएको छ।दर्ता र सूचीकरण भएका लेकाली खबर, खबर बुलेटिन टिभी, न्युज इन नेपाल, रातोपर्दा टिभी, योहो टेलिभिजन एचडी, पूर्वी गर्जन मिडिया, गान्द्रुक न्युजलाई स्पष्टीकरण र निर्देशन दिइएको हो भने, सूचीकरण नभएका सगरमाथा पाना र नेपाल लाइभ एचडीलाई कारबाही गर्न साइबर ब्युरोमा पत्राचार गएिको काउन्सिलले जनाएको छ। काउन्सिलले सामाजिक सञ्जालमा प्रसारित सामग्रीको विशेष अनुगमन गरिरहेको जनाउँदै पत्रकारितामा आधिकारिकता र जिम्मेवारीको आवश्यकता औंल्याएको छ।

प्रकाशित: ५ मंसिर २०८१ ०६:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App