५ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

जागरणका नाममा शक्ति प्रदर्शन गर्दै एमाले

सरकारको नेतृत्व गरेको प्रमुख पार्टी एमाले नै प्रमुख प्रतिपक्षी जसरी जागरणसभाको नाममा सडकमा प्रदर्शनमा लागेको छ। प्रतिपक्षी दलहरूले सडकमा सरकारविरुद्ध विभिन्न कार्यक्रम गरिरहेका बेला सत्ता पक्षको प्रमुख दल एमालेले मंसिर ७ गते आफ्नो शक्ति प्रदर्शन गर्न लागेको हो। त्यसका लागि एमाले उपत्यका पार्टी र बाग्मती प्रदेशले व्यापक तयारी गरिरहेका छन्।  

मंगलबार मात्रै काठमाडौंमा उपलब्ध पार्टीका पदाधिकारी, स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य तथा केन्द्रीय सदस्यहरूको संयुक्त बैठक बसेको थियो। सो बैठकले ७ गतेको कार्यक्रमलाई ऐतिहासिक बनाउने निर्णय गरेको छ। नेकपा एमाले विधिको शासनमा विश्वास गर्छ र कानुनीराज्यको मान्यता रहेको छ भन्ने सन्देश दिन जागरण सभा गर्न लागेको एमालेका नेताहरूले दाबी गरेका छन्। आफ्ना सबैजसो जनवर्गीय संगठनलाई उपस्थितिका लागि निर्दैशन मात्रै दिएको छैन, व्यापक मात्रामा जनताको सहभागिता गराउन र उनीहरूलाई सुरक्षित बनाउन निर्देशन दिइसकेको छ।  

काठमाडौंमा हुने जनप्रदर्शनमा एमालेका जनवर्गीय संगठनहरू युवा संघ नेपाल, जिफन्ट, अनेरास्ववियु, सम्पर्क मञ्चलगाय सबैजसो जनसंगठनलाई प्रदर्शनमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। एमालेले अराजकताविरुद्ध सामाजिक सद्भाव, राष्ट्रिय एकता र राजनीतिक स्थिरताको सन्देश दिने गरी प्रदर्शन गर्न लागेको हो। एमालेले यसलाई जागरणसभा नाम दिएको छ। काठमाडौं उपत्यकाका तीनै जिल्लाबाट जनता ल्याउन गत हप्ताबाटै तयारी गरेको थियो। यसबारे एमालेले बुधबार सञ्चारकर्मीहरूसँग अन्तत्र्रिmया र छलफलसमेत गर्ने भएको छ। 

यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि त्यस पार्टीका नेताहरू कार्यकर्ताहरू सडक आन्दोलनमा रहेका छन्। नेकपा माओवादी सरकारबाहिर रहेदेखि नै सरकारको नीति तथा नियतमाथि प्रश्न गरेर आन्दोलनको माहोल बनाइरहेको छ। माओवादीले भ्रष्टाचार र बेथितिविरुद्ध १० कात्तिकमा काठमाडौंमा खबरदारी सभा गरेको थियो।

तर एमालेले यी सबै विषयलाई जवाफ दिनेगरी काठमाडौंमा जागरण नाम दिएर प्रदर्शनमा उत्रन लागेको हो। एमालेमा प्रवक्ता राजेन्द्र गौतमका अनुसार मंसिर ७ को जागरणसभा निकै ऐतिहासिक हुनेछ। ‘खासगरी नेकपा एमाले विधिको शासनमा विश्वास गर्छ, कुनै पनि प्रकरण, अराजकता र विधिविहीन विषयलाई कानुनले मात्रै नियन्त्रण गर्छ भन्ने विश्वास निर्माण गर्नु मंसिर ७ को जागरणसभाबाट सन्देश दिइनेछ,’ एमालेका प्रवक्ता गौतमले भने। उनका अनुसार यो जागरणसभा कसैप्रति लक्षित नभई पुस १६ गते हुने उपनिर्वाचनमा एमालेको पक्षमा जनमतको उभार ल्याउनु पनि हो। ‘पुस १६ गते उपनिर्वाचन पनि हुँदै छ। एमालेले यो सभाबाट लोकतन्त्रको विकल्प खोज्नुपर्ने पक्षमा उभिएका कतिपय शक्तिलाई सन्देशमूलक जवाफ दिनु पनि रहेको छ,’ गौतमले भने। उनका अनुसार जागरणसभा एमाले पार्टीले गर्ने भएकाले त्यहाँ सरकारले गरेका कामकारबाहीबार जानकारी दिने पनि उद्देश्य राखिएको छ।

नेकपा एमालेले आगामी ७ मंसिरमा जनसभा गर्ने विषयमा बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले कात्तिक ३० गते नै वक्तव्य जारी गर्दै जनसभाको औचित्य सार्वजनिक गरेका थिए। उनले जारी गरेको वक्तव्यअनुसार जनसभाको पहिलो कारण विधिको शासन र कानुनी राज्यको पक्षमा जनमत निर्माण गर्नु रहेको उल्लेख थियो। ‘राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न’, उनले जारी गरेको वक्ततव्यमा भनिएको थियो।

 त्यसैगरी पार्टीको इतिहास, वर्तमान सक्षम नेतृत्व र भावी गन्तव्य प्रष्ट पार्नु रहेको पनि उल्लेख छ। उनका अनुसार जनसभा मार्फत सरकारले गरेको कामको प्रचार रहेको भट्टराईले प्रष्टोक्ति दिएका छन्। साथै सुशासन र समृद्धिको प्रतिबद्धतासहित उपचुनावमा माहोल बनाउनु उल्लेख गरिएको छ। ‘आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा पार्टीका पक्षमा जनमत निर्माण गर्न,’ वक्तव्यमा भनिएको थियो। डा. भट्टराईले वक्तव्य जारी गरेपछि सडक प्रदर्शनलाई सहज बनाउन काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको संयुक्त बैठक पनि बसिसकेको छ। लामो समय सडक अवरोध नहुनेगरी प्रदर्शनलाई सहज बनाउने एमालेको तयारी रहेको छ। प्रधानमन्त्री केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल मात्र वक्ता राख्ने तयारी भइरहेको छ। जागरणसभामा करिब एक लाख बढी नेता–कार्यकर्ता सडकमा आउने एमाले नेताहरूको दाबी छ। काठमाडौंको भृकुटीमण्डपमा हुने जागरणसभामा एमालेले उपत्यकाका तीनवटै जिल्लाको सम्पूर्ण पार्टी शक्ति परिचालन गर्ने निर्णय गरिसकेको छ। एमालेले यो सभालाई उपनिर्वाचन मात्र होइन, मिसन २०८४ को एउटा अंग पनि मानेको छ।  

प्रकाशित: ५ मंसिर २०८१ ०६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App