५ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

तीन महिनामै चार खर्ब विप्रेषण

मुलुकको आन्तरिक अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहे पनि विदेशमा काम गर्ने नेपालीले पठाएको रकमले मुलुकको अर्थतन्त्रमा भरथेग भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार विभिन्न पेशा व्यवसाय र वैदेशिक रोजगारमा गएका नेपालीले चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा (असोजसम्म) चार खर्ब सात अर्ब ३१ करोड रूपैयाँले विप्रेषण (रेमिट्यान्स) पठाएका छन्।

मुलुकको आयात निर्यात व्यापार प्रभावित भएर अपेक्षित रूपमा राजस्व संकलन हुन सकेको छैन। व्यावसायिक क्षेत्र पनि राम्रो छैन तर राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा विदेशबाट आउने रेमिटेन्स आप्रवाह साढे ११ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) नयाँ लिने नेपालीको संख्या एक लाख १० हजार ६ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या पाँच हजार नौ सय ३९ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख १३ हजार तीन सय ९७ र ४९ हजार दुई सय ९७ रहेको थियो।

अर्थतन्त्रका अन्य बाह्य सूचकमा पनि उल्लेख्य सुधार आएको छ। गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ९.४ प्रतिशतले वृद्धि भई असोज मसान्तमा २२ खर्ब ३२ अर्ब २८ करोड रूपैयाँ पुगेको छ। तीन महिनाको अवधिमा विदेशी मुद्रा सञ्चिति करिब दुई खर्ब रूपैयाँले बढेको छ।  

अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा असोज मसान्तमा ७.५ प्रतिशतले वृद्धि भई १९ खर्ब ८८ अर्ब रूपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा असोज मसान्तमा २६.९ प्रतिशतले वद्धि भई दुई खर्ब ४४ अर्ब २७ करोड कायम भएको छ। आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३९.१ प्रतिशत, १२१.९ प्रतिशत र ३०.९ प्रतिशत रहेका छन्।

त्यसैगरी, समीक्षा अवधिमा चालु खाता एक खर्ब ११ अर्ब ८७ करोड रूपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोड रूपैयाँले मात्र बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ९४ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ८३ करोड ४० लाखले बचतमा रहेको छ। समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर दुई अर्ब रूपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) चार अर्ब ८१ करोड रूपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर एक अर्ब १५ करोड रूपैयाँ कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) तीन अर्ब ३८ करोड रहेको थियो।

त्यसैगरी समीक्षा अवधिमा शोधनान्तर स्थिति एक खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब एक अर्ब ६६ रूपैयाँ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ३८ करोडले बचतमा रहेको थियो।

समीक्षा अवधिमा खुद सेवा आय २३ अर्ब २९ करोड रूपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २९ अर्ब ३९ करोड रूपैयाँले घाटामा रहेको थियो। सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३।५ प्रतिशतले वृद्धि भई १७ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब १३ करोड रहेको थियो। समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ७.७ प्रतिशतले वृद्धि भई ५५ अर्ब ७८ करोड रूपैयाँ पुगेको छ। यसमध्ये शिक्षा तर्फको व्यय ३२ अर्ब १८ करोड रूपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड रहेकोमा शिक्षातर्फको व्यय ३२ अर्ब ९२ करोड रूपैयाँ रहेको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार महँगी घटेको छ। चालु आर्थिक वर्षको असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशतमा झरेको छ। गत वर्षको असोजमा मुद्रास्फीति ७.५० प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४९ प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यिनीहरूको मुद्रास्फीति क्रमशः ८.४८ प्रतिशत र ६.८५ प्रतिशतले वृद्धि भएको थियो।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २५.१५ प्रतिशत, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५७ प्रतिशत र घ्यु तथा तेलको ४.९८ प्रतिशतले बढेको छ। माछा तथा मासु उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १.१८ प्रतिशत, मरमसलाको ०.७९ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.७८ प्रतिशतले घटेको छ। गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.४९ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.३२ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.१२ प्रतिशत र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.०० प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.७६ प्रतिशतले बढेको छ। सबैभन्दा बढी महँगी सुदूरपश्चिम प्रदेशमा देखिएको छ। कोसी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२६ प्रतिशत, मधेश प्रदेशको ५.०८ प्रतिशत, बागमती प्रदेशको ४.२४ प्रतिशत, गण्डकी प्रदेशको ३.९८ प्रतिशत, लुम्बिनी प्रदेशको ४.४२ प्रतिशत, कर्णाली प्रदेशको ३.२५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.५६ प्रतिशत रहेको छ। काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.५० प्रतिशत, तराईको ५.२३ प्रतिशत, पहाडको ४.३२ प्रतिशत र हिमालको ५.०८ प्रतिशत रहेको छ।

प्रकाशित: ५ मंसिर २०८१ ०८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App