४ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

मंगलबार साँझ रास्वपाले घरघरमा घण्टी बजाउने

२०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनको दुई वर्ष पुगेको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले मंगलबार(आज)साँझ घरघरमा घण्टी बजाउने भएको छ । रास्वपाले जनमतबाट मुलुक रूपान्तरणको सुरुवात भएको दिन भन्दै घरघर र चोकमा घण्टी बजाउन आह्वान गरेको छ ।  

‘आज २०८१ मंसिर ४ गते । आम निर्वाचनमा मत परिवर्तनबाट मुलुकको रूपान्तरणको सुरुवात भएको दुई वर्ष पुगेको छ,’ रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले फेसबुकमा लेखेका छन्, ‘भ्रष्ट सरकारको सर्वसत्तावाद र राजनीतिक प्रतिशोध विरुद्ध आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलमा चोकमा जम्मा भई सात मिनेट खबरदारी घण्टी बजाउन सबैमा अनुरोध गर्दछौँ ।’ 

घण्टी बजाउँदै गरेको फोटो, भिडिओहरू सामाजिक सञ्जालमा अपलोड गरी सामाजिक सञ्जालबाट समेत खबरदारी गर्न बुर्लाकोटीले अपिल गरेका छन् । 

स्थापनाको करिब पाँच महिना मै राष्ट्रिय स्वतन्त्र पार्टीका २१ जना सांसदलाई जिताउने गरी करिब १२ लाख मत प्राप्त गरेको रास्वपाले भनेको छ । शान्तिपूर्ण लोकतान्त्रिक विधिबाट प्राप्त मतलाई सम्मान गर्दै रास्वपाले सदनलाई सदन जस्तो बनाउने गरी जनताका आवाजहरूलाई बुलन्द गरेको दाबी समेत गरेको छ । ‘यसैबिच सरकारमा जाँदाखेरि सरकारको प्रभावकारितालाई बढाउने र भ्रष्टाचार र बेथितिलाई न्यूनीकरण गर्न भ्रष्टाचार विरुद्ध आन्दोलन नै सुरु गर्‍यो,’ रास्वपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘भ्रष्टाचारका ठुला फाइलहरू खोल्ने सन्दर्भमा अन्तर्राष्ट्रिय लोकतान्त्रिक अभ्यासका विपरीत सदनका दुई ठुला दलहरू मिलेर सत्ता कब्जा गरे र मनोमानी ढङ्गले जनतामाथि शासन गर्ने सुरुवात गरे।’ 

प्रकाशित: ४ मंसिर २०८१ १३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App