३ मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

तिलक लिएर मुख्यमन्त्री सिंह पुगे अयोध्या

मधेश प्रदेशका मुख्यमन्त्री शतिसकुमार सिंह नेतृत्त्वको टोली अयोध्या पुगेको छ।

यही मङ्सिर २१ गते हुने रामजानकी विवाह महोत्सवका लागि निम्तो दिन र विवाह अघि हुने तिलकोत्सव समारोहका लागि मुख्यमन्त्री सिंह २५१ जनाको नेतृत्त्व गर्दै शनिबार अयोध्याका लागि प्रस्थान गरेका थिए।

अयोध्यामा आज भगवान् रामको तिलकोत्सव समारोहको आयोजना हुनेछ। अयोध्यामा राम मन्दिरमा प्राणप्रतिष्ठापछि पहिलोपटक हुन लागेको तिलकोत्सव आज दिउँसो २ बजे आयोजना गरिने छ।

भगवान् श्रीरामको तिलकोत्सव रामसेवकपुरममा हुनेछ। जहाँ अतिथि र अन्य दर्शकको सङ्ख्यालाई ध्यानमा राखी व्यवस्था गरिँदैछ। तिलकका लागि तयार मञ्चमा रामको स्वरूपमा १८ वर्षीय एकजना युवकलाई पिठोले बनाइएको कुर्सीमाथि राखिने छ।

तिलक समारोह पारम्परिक हुनेछ। जसमा चाहिने आवश्यक सामग्री परम्पराअनुसार जनकपुरबाट गएका तिलक टोलीले आफ्नो साथमा लगेका छन्। काँसको थाल, दुईवटा कचौरा, चम्मासहित ५ वटा परम्परागत भाँडाकुँडाबाहेक उपहारमा दिनका लागि अन्य भाडाकुँडा पनि रहने छ।

त्यसबाहेक पहेँलो रंगको धोती, तौलिया, बेसारको डल्लो, चन्दन, धान, पहेँलो चामल, दुबो र घाँस लगायतका सामग्री उपहारस्वरूप दिइने छ। त्यस्तै चाँदीको सिक्का, अलैँची र सुपारी पनि दिइने छ। तिलक चढाउन जनकपुरबाट सिताको कान्छो भाइको भूमिका जानकी मन्दिरका छोटे महन्त रामरोशन दासले निर्वाह गर्नेछन्।

तिलकोत्सव पछि २६ नोभेम्बरमा अयोध्याबाट जन्ती जनकपरका लागि प्रस्थान गर्नेछन्।

प्रकाशित: ३ मंसिर २०८१ ११:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App