३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

इलाम एमाले अधिवेशनः अध्यक्षमा बराल र भट्टराईको उम्मेदवारी

एमाले जिल्ला अध्यक्षका प्रत्यासी बायाँबाट गणेशप्रसाद बराल र नरेन्द्रनाथ भट्टराई। तस्बिरः भीम/नागरिक।

इलाम सदरमुकाममा जारी नेकपा (एमाले) इलाम जिल्ला कमिटीको ११औं अधिवेशनमा अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ।

उम्मेदवारको विवरणअुनसार एक अध्यक्षका लागि गणेश बराल र नरेन्द्रनाथ भट्टराईले मनोनयन दर्ता गराएका छन्। बराल ११औं जिल्ला अधिवेशन आयोजक कमिटी अध्यक्ष हुन्। उनी यसअघि कोशी प्रदेश कमिटीको सचिवालय सदस्य थिए।

पार्टीको जिल्ला सचिव भइसकेका बराल आठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमै रामबहादुर रानासँग पराजित भएका थिए। २०४९ देखि २०५२ सालसम्म इलामको मरब क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियनको सभापतिसमेत भएका बराल २०५४ सालमा तत्कालीन जितपुर गाविसको अध्यक्ष भएका थिए। २०७४ सालको स्थानीय तह निर्वाचनबाट उनी इलामको जिल्ला समन्वय समिति प्रमुखसमेत भए।

अध्यक्षका अर्का उम्मेदवार भट्टराई लामो समयदेखि एमालेको राजनीतिमा क्रियाशील छन्। उनी अहिले पार्टीको केन्द्रीय सल्लाहकार सदस्य छन्। पार्टीको जिल्ला उपसचिव, सचिव भइसकेका भट्टराई सातौं जिल्ला अधिवेशनमा मणिकुमार लिम्बूसँग अध्यक्षमै पराजित भएका थिए। उनले २०४३ सालको निर्वाचनमा इलामको प्रधानपञ्चको जनपक्षीय उम्मेदवार भएपनि विजय हासिल गर्न सकेका थिएनन्।

एक उपाध्यक्षमा उदयबहादुर राई, उमेश गुरुङ र बुद्धिप्रसाद खनाल तथा सचिवमा रवीन्द्र सुवेदी र प्रकाश अधिकारीले मनोनयन दर्ता गराए। एक महिलासहित दुई उपसचिव पदका लागि विष्णुमाया आचार्य रिमाल, दिलकुमारी लावती (दिलु योङहाङ लावती), यामबहादुर राई, मानवीर लुहागुन, रमेशकुमार राई र छवि श्रेष्ठले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।

बिहीबार उद्घाटनसत्र सम्पन्न भइ आज निर्वाचन हुने भएको छ। उम्मेदवारी दर्तापछि सहमतिका लागि अधिकतम् प्रयास भइरहेको र आवश्यकताअनुसार निर्वाचन केहीबेरपछि सुरु हुने एमालेका एक नेताले जानकारी दिए।

जिल्लाका सबै ८१ वटै वडा, २१ जनसंगठन तथा पेसागत संगठन, तीन इलाका, शाखा र एउटा विशेष वडा कमिटीबाट पाँच सय ८७ प्रतिनिधि मतदाताका रूपमा छन्। अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित १ सय २५ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ।

प्रकाशित: ३० कार्तिक २०८१ ०९:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App