६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

रुपन्देहीमा बयान सकिए पछि लामिछानेलाई आज कास्की पठाइँदै

रुपन्देही प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज कास्की पठाउने तयारी गरेको छ।

लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार बयान लिएर सकेपछि आज उनलाई जहाजबाट कास्की पठाउने तयारी गरिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए।

मंगलबार रुपन्देही ल्याइएका लामिछानेसँग सोहिदिन, बुधबार र बिहीबार गरी करिब २३ घण्टा बयान लिएको हो।

गोर्खा मिडिया नेटवर्कमार्फत सुप्रिम सहकारीको रकम संगठित रुपमा अपचलन गरेको मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा उनको बयान लिइएको हो।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डित सहित अनुसन्धान अधिकृतहरूले लामिछानेको बयान लिएका हुन्।

जिल्ला न्यायधिवक्ता पौडेलले लामिछानेको बयान सकिएको जानकारी दिए। लामिछानेसँग जोडिएको मुद्दाका सम्बन्धमा ७४ वटा सवाल जवाफ भएको पौडेलले जानकारी दिए।

पूर्व गृहमन्त्री समेत रहेका लामिछाने गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हु्। संसदीय समितिको प्रतिवेदन अनुसार उनी पदमा रहेकै बेलो गोर्खा मिडिया नेटवर्कमा सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँ गैरकानुनी रुपमा गएको देखिन्छ।

त्यसमध्ये २ करोड लामिछानेको नाममा निकालिएको यसअघिका अनुसन्धान प्रतिवेदनमा औँल्याइएको छ।

बुटवलको राजमार्ग चौराहमा केन्द्रीय कार्यालय रहेको सुप्रिम सहकारीमा १० हजार ३ सय ९१ बचतकर्ता छन्। ती बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड मध्ये ८६ करोड १८ लाख रकम जिवी राईको समूहले अपचलन गरेको भन्दै सहकारीका १ हजार ८३१ बचतकर्ताले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए।

तीनै उजुरीका आधारमा करिब ९ महिना अघिदेखि सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान जारी छ।

लामिछाने सुर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा गत कात्तिक २ गते पक्राउ परेका थिए। गत आइतबार कास्की जिल्ला अदालते चौथो पटक उनलाई थप १३ दिनको म्याद थप गरेको थियो।

सुप्रिम सहकारी ठगी प्रकरणमा पनि जोडिएपछि उनलाई कास्कीबाट बयानका लागि रुपन्देही ल्याइएको हो।

अनुसन्धानकै क्रममा प्रहरीले गत वैशाखमा सहकारीका संरक्षक तथा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिवी राई, सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, सचिव दिपेश पुन, सहकारीका व्यवस्थापक सागर केसी लगायतका २८ जना विरुद्ध सरकारी वकिलको कार्यालय मार्फत मुद्दा दायर गरेको थियो।

ती मध्ये सातजना वैशाखमै पक्राउ परेका थिए। अध्यक्ष गुरुङलाई पूर्पक्षकालागि थुनामा पठाइएको छ। सचिव पुन सहितका ६ जना धरौटीमा रिहा भए। जिवी सहितका १९ जना अहिले पनि फरार छन्।

फरार १९ जनाविरुद्ध जिल्ला अदालतले गत वैशाखमै पक्राउ पुर्जी जारी गरेको थियो। अनुसन्धानकै क्रममा गोर्खा मिडिया नेटवर्क प्रालिका संचालक, पदाधिकारी तथा सदस्यहरूको नाममा सुप्रिमबाट पैसा झिकेर गोर्खा मिडिया खर्च गरेको देखिएपछि रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी लगायतका १२ जनाविरुद्ध पनि जिल्ला अदालत रुपन्देहीले कात्तिक ८ मा पक्राउ पुर्जी जारी गरेको थियो।

सोही मुद्दामा गोर्खा मिडियाका उपाध्यक्ष रहेका पूर्व डिआइजी छविलाल जोशीलाई यसअघि नै रुपन्देहीमा बयान गरेर पोखरा पठाइएको छ।

प्रकाशित: ३० कार्तिक २०८१ ०६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App