आसन्न उपनिर्वाचनका लागि त्रियुगा नगरपालिका-१२ मा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनावमा भाग लिने तयारी गरेका छन्।
त्रियुगा-१२ को रिक्त वडाध्यक्ष पदका लागि प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले यसअघि नै उम्मेदवार तय गरिसकेका छन्।
नेकपा एसले बुधबार मात्र वडाध्यक्षका उमेद्वारको नाम टुङ्ग्याएको जनाएको छ। पार्टी जिल्ला कमिटी अध्यक्ष विनोद खड्काका अनुसार नगर कमिटी सदस्य निर्मला चौधरीलाई वडाध्यक्ष उठाउने निर्णय भएको छ।
त्यसैगरि राष्ट्रिय स्वतन्त्र पाटिले पनि बुधबारकै निर्णय अनुसार ध्रुव पोखरेललाई उमेद्वार बनाएको छ। रास्वपा उदयपुरका अध्यक्ष चित्र कार्कीका अनुसार त्रियुगा १२ सँगै अर्को रिक्त बेलका नगरपालिका-९ को वडाध्यक्षमा पनि पार्टीले उम्मेदवार उठाउने तय गरेको छ। तर, व्यक्तिको नाम छिट्टै बस्ने बैठकले टुङ्ग्याइने अध्यक्ष कार्कीले बताए।
त्रियुगा-१२ मा कांग्रेस, एमाले र माओवादी केन्द्रले क्रमशः सञ्जिब काफ्ले, लक्ष्मीनारायण चौधरी र नबिनकुमार राईलाई उठाउने निर्णय गरिसकेका छन्।
त्यसैगरी बेलका ९ को वडाध्यक्षमा कांग्रेसले नवीन बस्नेतलाई, एमालेले मनोज खड्कालाई र माओवादीले भरत घिमिरेलाई टिकट दिइसकेको छ।
प्रकाशित: २८ कार्तिक २०८१ १९:१६ बुधबार