६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

राकममा छिट्टै सय शय्याको अस्पताल बन्छ: प्रधानमन्त्री

.

.

प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको राकम कर्णालीमा सय शय्याको अस्पताल चाँडै सञ्चालनमा ल्याइने घोषणा गरेका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा आयोजित प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ओलीले अस्पताल बनाउने प्रक्रिया समेत सुरु भइसकेको अवगत गराए।

दैलेख लगायत आसपासका जिल्ला सेन्टर भएकाले अस्पताल बनाउने र प्रतिष्ठानले व्यवस्थापन गर्ने जनाइएको छ। अस्पताल सञ्चालनमा आए सुदुपश्चिमका ५ जिल्ला र कर्णालीका दैलेख, कालिकोट लगायतका जिल्लावासी लाभान्वित हुनेछन्।

कर्णाली राजमार्ग छेउमै पर्ने भएकाले पनि भइपरी आउने दुर्घटना लगायतका कुराहरूमा यथाशीघ्र घाइतेहरूले उपचार पाउने छन्।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई थप प्रभावकारी बनाउन र गुणस्तरीय शिक्षा र सेवा प्रदान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जनाए। साथै, सरकारले उच्च प्राथमिकतामा राखेका पूर्वाधार निर्माणमा लगायतका कामहरु छिट्टै हुने उल्लेख गरे।

उनले आफ्नो प्रधानमन्त्री कार्यकालमा चिकित्सा शिक्षा आयोगबाट प्रतिष्ठानलाई कक्षा सञ्चालनको स्वीकृति दिलाउन सक्रिय भूमिका निर्वाह गरेको स्मरण गर्दै दीक्षित विद्यार्थीहरूलाई आगामी यात्रामा सफलता प्राप्त गर्न प्रेरित गरे।

उनले भने, ‘तपाईंहरूको मेहनतले आज यो सफलता सम्भव भएको छ, यसलाई दूरदराजका जनतालाई स्वास्थ्य सेवा पुर्‍याउन प्रयोग गर्नुहोस्।’

कार्यक्रममा जनस्वास्थ्य, नर्सिङ र चिकित्सा विषयमा स्नातक र स्नातकोत्तर तह पूरा गरेका ५८ विद्यार्थी दीक्षित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. अञ्जनीकुमार झा लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको समारोहमा प्रधानमन्त्री ओलीले १३ जिल्लाका जनताका लागि यो सपना साकार भएकोमा खुसी व्यक्त गरे।

समारोहको दौरान प्रधानमन्त्रीले दीक्षित विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै भने, 'कर्णाली र सुदूरपश्चिमका जनतालाई यस प्रतिष्ठानले प्रभावकारी सेवामा योगदान गर्नेछ, जसले यस क्षेत्रको स्वास्थ्य सेवा प्रणालीलाई सशक्त बनाउनेछ।'

प्रकाशित: २८ कार्तिक २०८१ १४:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App