६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

सुरक्षा कूटनीति: काठमाडौं आउँदै भारतीय सेनाध्यक्ष र एसएसबी प्रमुख

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि भारतीय दुई सुरक्षा निकायका प्रमुखहरू नेपाल आउने भएका छन्। प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाँदै छन्। ओली चीन जानुअघि भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी र सशस्त्र सीमा बलका महानिर्देशक अमृतमोहन प्रसाद नेपाल आउन लागेका हुन्।  

भारतीय सशस्त्र सीमा बलका महानिर्देशक प्रसाद आगामी शुक्रबार ९यही कात्तिक ३० गते० र स्थल सेनाध्यक्ष द्विवेदी मंसिर ५ गते काठमाडौं आउने कार्यक्रम तय भएको छ। नेपालका सुरक्षा अंगका प्रमुखहरूले भारतीय सुरक्षा अंगका प्रमुखहरूको नेपाल भ्रमणलाई नियमित भनेका छन्। तर प्रधानमन्त्री ओलीको चीन भ्रमण तय भएपछि हुन लागेको उनीहरूको यो भ्रमणलाई नेपालसँग भारतको सम्बन्ध थप सकारात्मक दिशातर्फ उन्मुख भएको सन्देशका रूपमा लिइएको छ।  

‘यतिबेला सीमा सुरक्षासँग सम्बन्धित रहेर समन्वयात्मक बैठक बस्नु र भारतका स्थल सेनाध्यक्ष नेपाल आउनु भनेको नियमित भ्रमण मात्र होइन, नेपाल सरकार र भारत सरकारबीच सम्बन्ध सकारात्मक छ भनेर देखाउनु पनि हो’, नेपालको रक्षा मन्त्रालयका एक अधिकारीले भने। ती अधिकारीका अनुसार भारतीय स्थल सेनाध्यक्ष द्विवेदीको भ्रमणको जानकारी सेनाले नै दिनेछ। नेपाली सेनाका एक उच्च अधिकारीका अनुसार यो विषयमा बुधबार मात्रै विज्ञप्ति जारी गरेर जानकारी दिइने छ ।

भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल आउने भएपछि नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग रहेको ‘संयुक्त अपरेसन सेल’ गठन गरेर सुरक्षा निगरानी बढाइने भएको छ। ‘उहाँको भ्रमणलाई सेनाले उच्च महŒव दिएको छ, भ्रमणका बेला विरोध उत्पन्न हुन सक्ने भएकाले त्यसलाई ध्यानमा राखेर संयुक्त अपरेसन सेल बनाउन लागिएको हो’, नेपाली सेनाका एक उच्च अधिकारीले भने।  

भारत सरकारले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो नदिएको विषयमा कूटनीतिक क्षेत्रमा विभिन्न आशंकासहितका टिप्पणी भइरहेका बेला हुन लागेको स्थल सेनाध्यक्षको भ्रमणले दुई देशबीचको सम्बन्धमा सकारात्मक सन्देश दिने बताइएको छ। ओली सरकारले भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइसकेको छ।

नेपाल भ्रमणका क्रममा भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई शीतल निवासमा हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको पदवी दिने कार्यक्रम छ। भारतीय सेना प्रमुख नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न ग्रहण गर्न नेपाल आउन लागेको नेपाली सेना निकट स्रोतले जानकारी दियो। यो परम्परा दुवै देशबीच कायम छ।  

द्विवेदीको नेपाल भ्रमणका क्रममा सहयोग आदान–प्रदानबारे पनि छलफल हुने सैनिक स्रोतले जानकारी दिएको छ। द्विवेदी ३० जुन २०२४ मा भारतीय स्थल सेनाप्रमुख नियुक्त भएका थिए ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन महानिर्देशक प्रसाद काठमाडौं आउन लागेका हुन्। समन्वय बैठक मंसिर १ र २ गते काठमाडौंमा हुने छ। गत भदौमा ५, ६ र ७ गते काठमाडौंमा तय गरिएको सीमा सुरक्षासम्बन्धी आठौं समन्वय बैठक बंगलादेशमा भएको राजनीतिक उथलपुथललाई देखाएर भारतका तर्फबाट स्थगित गरिएको थियो। यतिबेला भारतीय सशस्त्र सीमा बलका महानिर्देशकको समय मिलेको जानकारी आएपछि मंसिर १ र २ दुई गते काठमाडौंमा बैठक गर्न लागिएको हो।  

सीमा सुरक्षासम्बन्धी सातौं समन्वय बैठक गत वर्षको कात्तिक २० देखि २२ गतेसम्म भारतको नयाँ दिल्लीमा भएको थियो। आठौं बैठकमा नेपाली टोलीको नेतृत्व सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र भारतीय टोलीको नेतृत्व भारतीय सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक प्रसादले गर्नेछन्। गृह मन्त्रालय स्रोतका अनुसार बैठक सीमापार अपराध नियन्त्रणलगायतका अजेन्डामा छलफल केन्द्रित हुने छ।  

सीमा सुरक्षामा खटिएका दुई देशका सुरक्षा निकायबीच समन्वय र सहकार्यका लागि नियमित रूपमा यो बैठक बस्न लागेको गृह मन्त्रालयले जनाएको छ। बैठकमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि पनि सहभागी हुने छन्। नेपाल–भारतबीच खुला सीमा रहेकाले सीमापार अपराध प्रमुख सुरक्षा चुनौती रहँदै आएको छ। सीमापार अपराध नियन्त्रणका लागि सहकार्य नै बैठकको प्रमुख अजेन्डा हुने सशस्त्र प्रहरीका एक उच्च अधिकारीले बताए। चाडपर्वको समयमा भारतबाट घर फर्कने नेपालीले सीमा नाकामा बेहोर्नुपरेका समस्या समाधानमा पनि बैठकमा छलफल हुनेछ। अहिले यस वर्षमा मुख्य चाडबाड सकिए पनि यो विषय नियमितजसो उठ्ने गरेको छ ।नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक मंसिर १ र २ दुई गते काठमाडौमा गर्न लागिएको र त्यसमा भाग लिन भारतीय सशस्त्र सीमा बलका महानिर्देशक प्रसाद काठमाडौं आउन लागेको सशस्त्र प्रहरी बल नेपालका निमित्त प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। ‘यो नियमित बैठक हो, गत वर्ष भारतको नयाँ दिल्लीमा भएको थियो, यसवर्ष नेपालमा हुन लागेको हो। यस्तो बैठक हरेक वर्ष हुन्छ’, थापाले भने ।

एसएसबी भारतको विशिष्टकृत सुरक्षा फौज हो, जसले नेपाल र भुटानसँगको सीमा सुरक्षा हेर्दै आएको छ। नेपालको तुलनामा सीमामा भारतीय सुरक्षा फौजको उपस्थिति बाक्लो छ। नेपालसँगको सीमामा एसएसबीका पाँच सय दुई पोस्ट छन्। यता नेपालका तर्फबाट सीमा सुरक्षाका लागि खटिएको एक मात्र सुरक्षा फौज सशस्त्र प्रहरी बल हो ।

प्रकाशित: २८ कार्तिक २०८१ ०७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App