इलामस्थित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला अधिवेशन आयोजक कमिटी अध्यक्षमा रणबहादुर राई चयन भएका छन्। सदरमुकाममा सम्पन्न जिल्ला कमिटीको १५औँ पूर्ण बैठकले राईलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो।
सूर्योदय नगरपालिकाको मेयरसमेत रहेका राई यसअघि पार्टीको जिल्ला सचिवालय सदस्य थिए। जिल्ला कमिटी अध्यक्ष भक्त केसी केन्द्रीय सदस्य निर्वाचित भएपछि राई जिल्लाको संयोजक बनेका हुन्। बैठकले एक सय १५ सदस्यीय आयोजक कमिटी गठन गरेको सचिवालय सदस्य चेतन अधिकारीले जानकारी दिए।
जिल्ला कमिटी अध्यक्ष केसीको अध्यक्षता तथा केन्द्रीय सचिव बलदेव चौधरीको प्रमुख आतिथ्यमा भएको बैठकमा केन्द्रीय पोलिटब्युरो सदस्यद्वय धर्मराज निरौला र खिनु लङ्वा लिम्बू, केन्द्रीय अनुशासन आयोग सदस्य राजकुमार राई, केन्द्रीय सल्लाहकार परिषद् सदस्य लालबहादुर सुब्बालगायत सहभागी थिए।
प्रकाशित: २५ कार्तिक २०८१ १५:३० आइतबार