१९ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मलाई कुनै दल विशेषको भएर काम गर्नु छैन: प्रजिअ शर्मा

 ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा पौडेलले कुनै दल,समूह वा पक्षको पक्षपोषणमा नलागी स्वतन्त्र र निश्पक्ष हिसाबले कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सूचनामा नागरिकको पहुँच स्थापित गर्ने सवालमा कुनै किसिमको सम्झौता नगर्ने समेत बताएका छन् ।  

ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी भएर आएको दोस्रो दिन बुधवार ताप्लेजुङका सञ्चारकर्मीसँग प्रजिअ शर्माले सेवाप्रति विश्वास नभए ढुङ्गा हान्ने विद्यामान प्रवृत्तिविरुद्ध जिल्ला प्रशासन कार्यालयलाई न्याय माग्दै उजुरी लिने भरोसा योग्य केन्द्र बनाउने आफ्नो जमर्को रहने बताए । जनताले सन्तुष्टि पाउने गरी सेवा दिने कार्यमा आफ्नोतर्फबाट उचित पहलकदमी हुने प्रजिअ शर्माको भनाइ थियो । शान्ति सुरक्षामा कुनै सम्झौता नगर्ने दोहोर्‍याउँदै प्रजिअ शर्माले विकास व्यवस्थापनका कार्यहरुमा आफुहरुले सहजीकरण गर्ने बताए ।  

नागरिक समाजका अगुवाले आफ्नो विवेकको प्रयोग गरेर समाजका प्रभावकारी कार्य सम्पादन हुने वातावरण निर्माणका लागि योगदान दिन सक्ने उनको भनाइ थियो । उनले अवरुद्ध योजनाहरुको सञ्चालन तथा व्यवस्थापनको सूची बनाई आफ्नोतर्फबाट हुने कार्यको सहजीकरण गर्ने र उपल्लो निकायमा पुर्‍याउनुपर्ने विषयमा मध्यस्थताको भूमिका निर्वाह गर्ने समेत बताए । सुशासन र प्रशासनबिचको तादम्यता मिलाउने कार्यमा प्रमुख जिल्ला अधिकारीको हैसियताबाट उच्च स्तरको भूमिका निर्वाह गर्ने शर्माले वचन दिए ।  

सेवा प्रवाह पारदर्शी,जनमैत्री,समायानूकुल र प्रभावकारी हुनुपर्नेमा आफु अडिग रहेको प्रजिअ शर्माको भनाइ छ । अरु विषयमा बिभाजित भएपनि विकास निर्माणका सवालमा समाज विभाजित हुन नहुने मत राख्दै प्रजिअ शर्माले एकीकृत,सहिष्णु र भातृत्व सहितको समाज स्थापनामा नागरिकहरुको समेत उत्तिकै बलियो भूमिका स्थापित हुने बताए । जिल्लाका साझा सवालहरुको सम्बोधनमार्फत जनमुखी कार्य सम्पादनको नतिजा ल्याउने गरी आफुले मेहनेत लगाउने समेत प्रजिअ शर्माको भनाइ थियो ।  

यहाँका प्रजिअ रविन्द्र आचार्यको ७ महिनाकै अवधिमा सरुवा भएपछि शर्मा नयाँ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा यहाँ आएका हुन् । शर्मा पछिल्लो १० वर्षयता लगातार गृह प्रशासन क्षेत्रमा कार्यरत छन् । शर्मा यहाँ आउनुअघि रौतहटको चन्द्रनिगाहापुर इलाका प्रशासन कार्यालयको प्रमुखको रुपमा कार्यरत थिए । शर्माले यसअघि मुस्ताङ सहितका जिल्लामा प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरिसकेका छन् ।

प्रकाशित: १४ कार्तिक २०८१ १७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App