४ कार्तिक २०८१ आइतबार
image/svg+xml
राजनीति

सहरी विकास मन्त्रीका १०० दिन: धरहरा सञ्चालनदेखि मन्त्री क्वाटर निर्माणसम्म

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले धरहरा सञ्चालनदेखि भैसेपाटी मन्त्री निवास निर्माण पूरा गरेको विषयलाई आफ्नो सय दिने उपलब्ध भएको बताएका छन्।

वर्तमान केपी शर्मा ओली नेतृत्व सरकारले सय दिन पूरा गरेको अवसरमा सिंहले आइतबार पत्रकार सम्मेलन गरी आफ्ना उपलब्धिहरू प्रस्तुत गरेका थिए।

पत्रकार सम्मेलनमा उनले  यही  कात्तिक ६ गतेसम्म धरहरा, बेसमेन्ट  पार्किङ्ग, बगैँचा सर्वसाधारणको लागि खुल्ला भएको हुने बताएका छन्। गत असोज ३ गतेदेखि संविधान दिवसको दिनबाट धरहरा सञ्चालनमा ल्याई परीक्षणको लागि धरहरा, बेसमेन्ट पार्किङ्ग र  बगैँचा सर्वसाधारणको लागि खुल्ला गरिएको थियो।

प्राकृतिक विपद्को समयमा समुदायलाई आश्रय स्थल उपलब्ध गराउनको लागि इमर्जेन्सी सेल्टर निर्माण कार्य गरिएको उनले बताए । ४ वटा  (कालिकोट तिलागुफा न.पा क्षमता - ४० जना), जुम्ला (चन्दननाथ न.पा. क्षमता ( ४० जना), महोत्तरी (जलेश्वर न.पा. क्षमता (१०० जना) र सप्तरी (तिलाठी कोइलाडी (क्षमता- १०० जना) मा इमर्जेन्सी सेल्टर निर्माणको लागि काम सुरु गरिएको उनको भनाइ छ।

जाजरकोट र रूकुम पूर्वको भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन तथा स्वास्थ्य संस्थाका भवन पुनर्निर्माण गर्न यही कात्तिक ६ गतेसम्म आयोजना कार्यान्वयन इकाई स्थापना भएको हुने मन्त्री सिंहले जनाए।

यसै गरी भैंसेपाटीमा निर्माणाधीन मन्त्री आवास क्षेत्रमा सबै मन्त्रीहरूको आवास स्थानान्तरण गर्ने काम भइरहेको सिंहले बताए। उनका अनुसार कात्तिक ६ गतेसम्म मन्त्री आवास क्षेत्रमा सबै  मन्त्रीज्यूहरूको आवास स्थानान्तरण हुने भएको छ। हाल १८ जना सङ्घीय मन्त्री, १ राष्ट्रिय सभाको उपाध्यक्ष बसीसकेका बाँकी मन्त्रीहरूलाई पनि सर्न आग्रह गरिएको छ।

यसै गरी दमक व्यापारिक कम्प्लेक्स तथा  चितवन सौराहा सभा हलको भवन निर्माण कार्य पूरा भएको छ। मन्त्री सिंहले सय दिनको उपलब्धि सुनाउँदै थापाथली स्थित नेपाल राष्ट्र बैंक, बैंकिङ्ग कार्यालय भवनको पुनर्निर्माण कार्य सकिएको,  र कात्तिक ६ गतेसम्म हस्तान्तरण हुने बताए।

यसै गरी  सिंहले २५ वटा स्थानीय तहका प्रशासकीय भवनको निर्माण पूरा गरिएको जनाए। यसैगरी देशभरि विभिन्न ठाउँमा  ५० वटा झोलुङ्गे पुलको निर्माण सम्पन्न गरी आवागमन सहज बनाइएको जनाएका छन्। यसलाई पनि उनले आफ्नो सय दिनको उपलब्धि ठानेका छन्।

प्रकाशित: ४ कार्तिक २०८१ १३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App