१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

यस्तो छ ओलीको भ्रमण तालिका

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दैै शुक्रबार भारतको तीनदिने राजकीय भ्रमणमा जाँदैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन्। भ्रमणका बेला उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बैंकटा नायडुसँग शिष्टाचार भेट र प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्।

प्रधानमन्त्री ओलीसँगै भारत जाने टोलीमा उनकी श्रीमति राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उद्योग, वाणिज्य र आपूर्ति मन्त्री मात्रृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, १० जना सांसद, मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकर दास बैरागीलगायत छन्। भारत सरकारले प्रधानमन्त्री ओलीलाई राजकीय पाहुनाको रुपमा राष्ट्रपति भवनमा राख्ने परराष्ट्र मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ।

नयाँदिल्ली पुग्नेबित्तिकै प्रधानमन्त्री ओलीले भारतीय उद्योगी तथा व्यापारीसँग अन्तरक्रिया गर्ने छन्। उनले नयाँदिल्लीमा नेपाली समुदायसँग पनि कुराकानी गर्ने छन्। शुक्रबार साँझ नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी हुने छन्।

प्रधानमन्त्री ओलीलाई शनिबार बिहान राष्ट्रपति भवनमा गार्ड अफ अनरले सम्मान गरिनेछ। त्यसपछि उनले राष्ट्रपति कोविन्द र उपराष्ट्रपति नायडुसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। सो भेटवार्तापछि उनले महात्मा गान्धीको समाधीस्थल राजघाट पुगी पुष्पकगुच्छा अर्पण गर्नेछन्।

राजघाटबाट फर्केपछि प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी मोदीबीच हैदराबाद हाउसमा ‘वान अन वान’ वार्ता हुनेछ । त्यसपछि ओली र मोदीको उपस्थितिमा नेपाल–भारत द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। द्विपक्षीय वार्ता सकिएपछि नेपाल र भारतबीच समझदारी बनेका केही सम्झौतामा हस्ताक्षर गर्ने र दुवै देशका प्रधानमन्त्री संयुक्त पत्रकार सम्मेलनमा सहभागी हुने कार्यक्रम छ। शनिबार नै प्रधानमन्त्री ओली मोदीले आयोजना गर्ने दिवा भोजमा सहभागी हुनेछन्।

शनिबार नै ओलीसँग भारतीय विदेश मन्त्री सुष्मा स्वराज, अर्थ मन्त्री अरुण जेट्ली, गृह मन्त्री राजनाथ सिंहले राष्ट्रपति भवनमा गई शिष्टाचार भेट गर्नेछन्। भारतका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले पनि प्रधानमन्त्री ओलीसँग शिष्टाचा भेट गर्ने कार्यक्रम छ।

‘दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा विरगन्जथित एकीकृत चेक पोस्टको उद्घाटन गर्ने कार्यक्रम छ,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्री ओली इन्डिया फाउन्डेसनले आयोजना गर्ने एक अन्तरक्रिया कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ।

ओलीलाई आइतबार उत्तराखण्ड पन्तनगरस्थित जिबी पन्त युर्निभर्सिटी अफ एर्गिकल्चर एन्ड टेक्नोलोजीले विज्ञान विषयमा मानार्थ विद्यावारिधिले विभूषित गर्ने कार्यक्रम छ। ओली आइतबार साँझ स्वदेश फर्कने छन्।

प्रकाशित: २३ चैत्र २०७४ ०१:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App